२०८१ बैशाख १४

तेस्रो प्रयासमा झापाबाट उदाएका विश्वप्रकाश





काठमाडौं । झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा फराकिलो मतसहित निर्वाचित भएका छन् ।
शर्मा झापा १ मा तेस्रो प्रयासमा निर्वाचित भएका हुन् । 

शर्माले १४ हजार २७५ मतको फराकिलो अन्तरले विजय हासिल गरेका हुन् । 



Advertisement



“मान्छेले घोडा चढ्न सिक्दा पहिलो पटक नसिक्न र लड्न पनि सक्छ ।  अर्कोपटक घोडा दगुराएर गन्तव्यमा जाँदै गर्दा पुनः लड्न सक्छ । जब मानिस अनुभवि हुन्छ, तब त्यसलाई राम्ररी कुदाउन सक्छ । ०७० को निर्वाचन मेरो परिचय र ०७४ को निर्वाचन अनुभवको निर्वाचन भयो । ०७९ को निर्वाचन परिणामको निवाचन बन्दै छ,” निर्वाचनअघि झापा १ मै भएको अन्तर्वार्तामा उनले भनेका थिए ।

२०७० सालमा भएको संविधानसभा सदस्यमा एमालेका रविन कोइराला र ०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका उमेदवार तथा माओवादी नेता सुरेन्द्र कार्की ‘राम’ सँग पराजित भएका थिए ।

“०७० सालमा मेरो आफ्नै कमजोरी रह्यो होला । झापामै जन्मिएँ, हुर्के । पढेँ बढेँ मात्र होइन जेलजीवन बिताएँ । र, विद्यार्थी हुँदै पार्टी राजनीति गरेँ । तर, गाउँमा मेरो कम परिचय भयो होला । ०७४ मा एकखालको परिचय बनेर सुदृढिकरण पनि भएको थियो । तर, एकाएक एमाले र माओवादी मिलेका थिए । त्यो अनपेक्षित परिणाम मात्रै थिएन स्वाभाविक पनि थियो । तर, अहिले परिदृश्य बदलिएको छ,” शर्माले भनेका थिए, “म ०७० जस्तो अपरिचित पनि छैन । र, ०७४ सालमा जस्तो विपक्षमा गठबन्धन भएको र हामी कमजोर भएको अवस्था पनि छैन ।”




अधिवक्ता समेत रहेका झापा कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि अशोक पोखरेल विश्वप्रकाश राष्ट्रको आवश्यकता भएको क्षेत्र नम्बर १ को जनताले बुझेर परिणाम दिएको बताउँछन् । 

“०७० को चुनाव लड्दा झापा जिल्ला सभापतिमा हारेर आउनुभयो । ०७४ को निर्वाचनमा केन्द्रीय सदस्य बन्नुभयो । अहिले महामन्त्री हुनुहुन्छ । यो बीचमा उहाँले झापा र यो देशका लागि गरेको योगदान अहिलेको माहोल हो,” उनले भने, “जनता नयाँ शक्तिको पछिमात्र कुदेका छैनन् । दलभित्रको योग्य मान्छे खोजेका छन् । विश्वप्रकाशलाई अघिल्लो पटक नजिताएर पछुतो मानेका जनताले अहिले गल्ती गरेनन् । यो राष्ट्रको जित भयो ।”

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएका हुन् । झापा मेचीनगरका स्थायी निवासी शर्मा विद्यालय तहबाटै विद्यार्थी राजनीतिमा होमिएका हुन् ।

शर्मा २०२७ साल पौष ६ गते बाबु पर्शुराम शर्मा र आमा सावित्री शर्माको सन्तानको कोखबाट जन्मिएका हुन् । उनले जन्मभूमि झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ मा रहेको धुलाबारी माविबाट अध्ययन सुरु गरेका हुन् । २०४१ सालमा नेविसंघ धुलाबारी माविको इकाई समितिका सभापति बन्दै विद्यार्थी राजनीतिमा होमिएका शर्मासँग सोही उमेरमा जेल बसेको अनुभव छ । विद्यालय तहपश्चात् शर्माले झापा भद्रपुरमा रहेको मेची बहुमुखी क्याम्पसबाट राजनीति अघि बढाएका हुन् । उनी यहाँ नेविसंघ एकाई अध्यक्ष भए र २०४५ वैशाख १२ मा भएको स्ववियू निर्वाचनमा पराजित हुनुपर्यो । जितहारको बीचमा हुने दुश्मनी चिर्दै उनले विगतको अशान्तिको इतिहास मेट्दै क्याम्पसको राजनीतिक माहोल बदलिदिए ।

शर्मा २०५७ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बने । उनको महामन्त्री गगन थापा थिए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिएका उनी २०६८ सालमा भएको पार्टीको १२औं महाधिवेशनबाट झापा जिल्ला सभापतिमा पराजित भए । 

उद्धव थापासँग सभापतिमा पराजित भएका उनले २०७२ को १३औं महाधिवेशनमा उनै थापालाई पुनः जिल्ला सभापतिमा सर्वसम्मत बनाउन उनले ठूलो भूमिका खेले । शर्मा २०७२ सालमा भएको पार्टीको १३औं महाधिवेशनबाट केन्द्रीय सदस्य बने । २०७८ सालमा भएको पार्टीको १४औं महाधिवेशनबाट पार्टी महामन्त्री बनेका हुन् । यसअघि उनी २०७५ पछि २०७८ मंसिरसम्म पार्टी प्रवक्ता बनेर कार्यसम्पादन गरिसकेका छन् । 

Copy link
Powered by Social Snap