२०८१ बैशाख ८

समानुपातिकको एक नम्बर छोडेर मैदानमा गएकी डिना भन्छिन्– विगतको हारलाई जितमा बदल्दै छु





काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर–१ बाट प्रत्यक्ष निर्वाच लडेकी छन् । महिलामध्येकै सबैभन्दा ‘सिनियर’ पदाधिकारी डिनालाई सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ एक नम्बर बसेर काम गर्न आग्रह गरेका थिए । तर, सभापतिको प्रस्ताव अस्वीकार गर्दै डिना टिकट लिएर मकवानपुर–१ गएकी हुन् । 

चुनावी प्रचारको अन्तिम चरणमा रहेकी उनी यसपटक राम्रो मतसहित चुनाव जित्ने अवस्था रहेको दाबी गर्छिन् । जननिर्वाचित प्रतिनिधि भएर काम गर्ने हुटहुटीले उनलाई प्रत्यक्ष चुनावमा पुर्याएको हो । 



Advertisement



“मैले संविधानसभामा समानुपातिकतर्फबाट प्रतितिनिधित्व गरेँ । त्यसपछि ०७४मा म प्रत्यक्ष चुनाव लडेकी हुँ,” डिनाले भनिन्, “त्यसवेला बाम गठबन्धनका कारण मैले चुनाव हारेँ । यसबीचमा म मकवानपुरबासीहरुसँगै सुखदुःख साटेर बसेकी छु । यसपटक मलाई उहाँहरुले आफ्नो प्रतिनिधि बनाएर पठाउँदै हुनुहुन्छ ।” आरक्षण छोडेर प्रत्यक्ष चुनाव लड्दा पाँच वर्ष उनी संसदबाहिरै परेकी थिइन् ।
 
पार्टीमा पनि आरक्षणको बाटो छोडेर १३औं महाधिवेशनमा उनी खुला प्रतिस्पर्धा गरेकी थिइन् । त्यसवेला चुनाव हारेर मनोनीत केन्द्रीय सदस्य बसेकी उनी १४औं महाधिवेशनमा भने सहमहामन्त्री निर्वाचित भएकी छन् । प्रत्यक्ष निर्वाचित भएर काम गर्ने इच्छाका कारण ०७४मा बाम गठबन्धनको जोखिम मोलेको भन्दै अहिले टिकट लिन पनि त्यही टिकटले सहयोग गरेको उनको भनाइ छ ।



“मैले एउटै व्यक्तिले सधैँ आरक्षणको कोटा लिनु हुँदैन भनेर त्यसको अभ्यास गरिरहेकी छु,” डिनाले भनिन्, “म सांसद बन्नका लागि एक नम्बरमा समानुपातिक बस्दा सहज बाटो थियो । तर, जननिर्वाचित भएर काम गर्ने मेरो अठोट हो । त्यसमा मकवानपुर–१ का मतदाताले मलाई सहयोग गर्दै हुनुहुन्छ ।”

नेपाल विद्यार्थी संघको राजनीतिबाट आएकी उनी दलीय व्वयस्था प्रतिवन्धित रहेको पञ्चायत कालमामा पद्मकन्या क्याम्पसको स्ववियु सभापति भएकी थिइन् । ०४८ सालमा मकवानपुरबाट निर्वाचित उनी पुनः यसपटक निर्वाचित भएर देश र जनताका लागि काम गर्ने आठोटमा रहेको बताँछिन् । 

Copy link
Powered by Social Snap