२०८१ बैशाख २२

मतदाताले पनि मलाई नै अनुमोदन गर्नेछन् 





धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद चुनावी अभियानमा व्यस्त छन् । संसदीय निर्वाचनमा साउद ०५१ देखि निरन्तर प्रतिस्पर्धा छन् । उनले ०५१, ०५६, ०६४, ०७० र ०७४ मा कञ्चनपुरबाट प्रतिस्पर्धा गरे । ०५६ र ०७० मा दुईपटक मात्र विजयी भएका थिए । अहिले फेरि प्रतिस्पर्धामा छन् ।

उनी अनुमोदन गरेका २५ उमदेवारको सूचीमा परेका छन् । सूचीमा आफ्नो नाम समेत समावेश भएकामा धन्यवाद दिँदै उनले यस क्षेत्रको मतदाताले पनि आफूलाई अनुमोदन गरेर सांसदका रूपमा प्रतिनिधिसभा पठाउने बताए । उनले आफ्नो पक्षमा उत्साह देखिएको बताए ।



Advertisement



कञ्चनपुर–२ मा आरक्षपीडित र बाढीपीडितका समस्या जल्दाबल्दा छन् । त्यहाँ जंगली जनावरको आतंकको समस्या पनि छ ।

नेता साउद अहिले बिहान ५ बजे उठेर कार्यकर्तासित भेटघाटमा व्यस्त हुन्छन् । बेलुका ८ बजेसम्म चुनावी सभा, मतदाताको घरदैलोमा सहभागी हुने गरेको उनका सचिवालय सदस्य उत्तम साउदले बताए ।

एनपी साउदको अहिले खाना, नास्ता पनि मतदाताको घरमै अथवा मेसमै हुने गरेको छ । मतदाता भेटघाट र घरदैलोपछि उनी राति १२ बजेतिर मात्र आफ्नो घर पुग्ने गरेका छन् ।

कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत रहँदा साउद नेविसंघमा आबद्ध भएर विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा प्रवेश गरेका हुन् । उनी ०३६ सालमा महेन्द्रनगर माविको नेविसंघ इकाइ सचिव भए । सिद्धनाथ विज्ञान क्याम्पसमा आईएस्सी पढ्दै गर्दा साउद स्ववियू सचिवमा निर्वाचित भएका थिए ।



उच्च शिक्षाका लागि काठमाडौं गएपछि ०४१ मा नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भए । प्रजातन्त्र पुनःस्थापनापछि ०४८ असोजमा भएको महाधिवेशनबाट साउद नेविसंघको अध्यक्ष चुनिए । त्यस बेला उनी २६ वर्षका थिए । सो कार्यकाल सकिएपछि उनी पार्टी राजनीतिमा लागे ।

शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएपछि उनी त्यसको केन्द्रीय सदस्य बने । ०६४ मा कांग्रेस एकीकरण हुँदा पनि उनी केन्द्रीय सदस्य नै भएका थिए । पार्टीको १२औँ, १३औँ र १४औँ महाधिवेशनबाट लगातार केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी ०५६ मा शिक्षा राज्यमन्त्री र ०७० मा सिँचाइमन्त्री समेत भइसकेका छन् ।

०७४ को संसदीय निर्वाचनमा साउद नेकपा (एमाले)का नरबहादुर धामीसित पराजित भएका थिए । योपटक पनि यी दुई नेता प्रतिस्पर्धामा छन् ।
 

Copy link
Powered by Social Snap