२०८१ बैशाख १९

सुर्खेतमा गठबन्धनका उमेदवारलाई ‘मत क्रस’को चिन्ता 





सुर्खेत । २०७९ सालको स्थानीय तह निर्वाचनमा सुर्खेतमा कांग्रेस–माओवादीको चुनावी गठबन्धन भए पनि मत क्रसका कारण चारवटा पालिका गुमाएको थियो । कांग्रेस–माओवादीमा  सोही अवस्थाको सामना अहिले पनि गर्नु पर्ने हो कि भन्ने चिन्ता मंसिर ४ चुनावमा पनि छ । गठबन्धनका उमेदवारसँग मुख्य प्रतिस्पर्धामा देखिएको नेकपा एमालेले मत क्रस हुने र एमालेमा आउने बताइरहेका बेला गठबन्धनलाई मत क्रसको चिन्ता बढेको हो ।  



Advertisement



सुर्खेत क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा गठबन्धनबाट उमेदवार हृदयराम थानी र एमालेका अमृत बीसी छन् । स्थानीय तहको मत परिणामले थानीलाई चुनाव जित्न सहज हुने देखिन्छ । माओवादी र कांग्रेसको मत ४१ हजार ३६६ छ । स्थानीय तहमा एमालेका वडाध्यक्षहरूले पाएको मत ३० हजार ४६९ छ । बीसीको मुख्य चुनौती एमालेका सांगठनिक भोट जोगाउनु र गठबन्धनभित्र खेल्नु हो । 



यो क्षेत्रमा गठबन्धनलाई आफ्नो मत जोगाउन सके जित निश्चित छ । एमालेले गठबन्धनको मत क्रस गराउन सके जित्ने सम्भावना देखिन्छ । प्रदेशसभामा पनि मत क्रसको चिन्ता गठबन्धनलाई छ । प्रदेशसभा २ (क) मा गठबन्धनबाट कांग्रेसका कालीप्रसाद शाक्य र एमालेका यामलाल कँडेलबीच मुख्य प्रतिस्पर्धा छ । प्रदेशसभा २ (ख) मा एमालेका ताराकेशर गौतम र गठबन्धनबाट माओवादीका विन्दमान विष्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
 
सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेबाट धु्रवकुमार शाही उमेदवार छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष र पालिकाहमा प्राप्त गरेको मत परिणाम हेर्ने हो भने सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस आठ हजार मतले अगाडि देखिन्छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षहरूले ३६ हजार ९२८ मत प्राप्त गर्दा दोस्रो बनेको एमालेले ३४ हजार ८४३ मत प्राप्त गरेको छ । माओवादीले पाँच हजार ७५, राप्रपाले ६६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ६३४ मत प्राप्त गरेको छ । यो मत परिणामलाई हेर्ने हो भने कांग्रेस–माओवादी र समाजवादीको गठबन्धन मत जोड्दा प्रतिनिधिसभामा खड्काको पक्षमा ४२ हजार ६३७ मत देखिन्छ । जुन मत एमालेको भन्दा सात हजार ७९४ बढी हो । 

यो क्षेत्रका दुई प्रदेशसभातर्फ प्रदेश १ (क) मा नेपाली कांग्रेसका खड्क पोखरेल र (ख) मा माओवादीका कृष्ण जिसी उमेदवार बनेका छन् । एमालेले (क) मा पूर्व माओवादीसमेत रहेका ठम्मर विष्ट र (ख) मा डण्डीप्रसाद शर्मा उमेदवार छन् । 

Copy link
Powered by Social Snap