२०८१ बैशाख २४

कसैले रोक्न सक्लान् देउवाको अपराजित यात्रा ?





डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चारदिने डडेलधुरा बसाइका क्रममा सात चुनावी सभामा सम्बोधन गरे । श्रीमती आरजु राणा देउवामार्फत गृहजिल्लामा उमेदवारी मनोनयनपत्र दर्ता गराएका उनले आफ्नो सातौँ चुनावी यात्रामा पनि पुरानै आश्वासनलाई निरन्तरता दिए ।



Advertisement



देउवाले भने, “पश्चिम सेती बनाउँछु । जिल्लामा शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार गर्छु । बेरोजगारी अन्त्य गर्छु । विमानस्थल तथा बसपार्क बनाउँछु र जिल्लाभर स्तरीय सडक सञ्जाल जोड्छु ।”

०४८ सहितका ६ वटै संसदीय निर्वाचन जितेका देउवाले हरेकपटक जिल्लावासीलाई दिँदै आएका आश्वासन नै हुन्, यी । सातौँ चुनावी यात्रामा पनि देउवाले जिल्लाका सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दा यिनै एजेन्डा दोहोर्‍याए ।


अहिले मेडिकल कलेजको एउटा आश्वासन थपिएको छ । “पश्चिम सेती निर्माणका लागि भारतीय सरकारी कम्पनीसँग सम्झौता भएको, विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन भइसकेको, मेडिकल कलेज सञ्चालनका लागि डिन नियुक्त भइसकेको र स्तरीय सडक सञ्जालका लागि बजेट विनियोजन भइसकेको छ,” जिल्ला सदरमुकाममा आयोजित चुनावी सभामा देउवाले भनेका थिए ।



उनले डडेलधुराका अरू ६ पालिकामा आयोजित चुनावी सभामा पनि सोही कुरा दोहोर्‍याए । अबका पाँच वर्षमा डडेलधुराले विकासमा फड्को मार्ने जिकिर गरे ।

देउवाले पुरानै एजेन्डासहित भोट मागे पनि आम मतदातामा उनीप्रतिको विश्वास घटेको छैन । त्यसैले देउवा फेरि पनि विजयी बन्न सक्छन् ।

अजयमेरु गाउँपालिका–२ का उमेश ऐर भन्छन्, “अहिलेसम्म डडेलधुरामा जे भएको छ, त्यो देउवाकै कारण भएको हामीलाई लाग्छ । त्यसैले अब जिल्लाको विकास गर्नका लागि देउवाकै आवश्यकता हामीले महसुस गरेका छौँ ।”

अमरगढी नगरपालिकामा भेटिएका सन्तोष जोशी देउवाले जिते प्रधानमन्त्री र अरूलाई जिताउँदा सांसद मात्र बन्ने कांग्रेसको प्रचारले पनि उनको अपराजित यात्रामा पूर्णविराम लगाउन मुस्किल भएको बताउँछन् । “देउवाबाहेक सुदूरपश्चिमबाट तत्काल कोही पनि प्रधानमन्त्री हुने सम्भावना छैन,” उनले भने, “सासंद मात्रैलाई जिताउनभन्दा प्रधानमन्त्री बन्ने व्यक्तिलाई जिताउन डडेलधुरावासी अग्रसर भएको देखिन्छ । त्यसैले देउवाको विजयी यात्रा निरन्तर चल्ने देखिन्छ ।”

हुन् त ६ पटक सांसद, एकपटक गृहमन्त्री र पाँचपटक प्रधानमन्त्री बनेका देउवाले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो पनि धेरैको छ । गन्यापधुरा गाउँपालिकाकी कलावती कार्कीले पटक–पटक जिताएर पठाए पनि गरिब जनताका लागि कसैले काम नगरेको गुनासो पोखिन् । “भोट हाल्न सुरु गरेदेखि देउवालाई नै भोट दिएकी छु,” उनले भनिन्, “तर, हाम्रा दुःख भने जस्ताका त्यस्तै छन् । तर पनि मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई भोट नदिने कुरै भएन ।”

Copy link
Powered by Social Snap