२०८१ बैशाख ८

काठमाडौं–२ : ओनसरी र मणिराममा को कति बलियो ?




काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नं २ मा चुनावी चहलपल बढेको छ । सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र)बाट पूर्वसभामुख ओनसरी घर्ती र नेकपा (एमाले)बाट नेता मणिराम फुँयाल चुनावी प्रतिस्पर्धामा छन् ।



Advertisement



घर्तीलाई सत्तागठबन्धनमा रहेका दलहरूको समर्थन रहेको छ भने फुँयाल एक्लै चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा एमालेबाट उमेदवार बनेका माधवकुमार नेपाल सो क्षेत्रबाट विजयी भएका थिए ।

नेपालले १२ हजार चार सय ६३ मतान्तरले कांग्रेसका उमेदवार दीपक कुइँकेललाई पराजित गर्दै २७ हजार तीन सय ६६ मत प्राप्त गरेका थिए । अहिले नेपाल नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष छन् । त्यतिबेला नेपाललाई वाम गठबन्धनको समर्थन थियो ।

गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले पाँच, एमालेले दुई र एकीकृत समाजवादीले एक वडामा जित हासिल गरेका छन् ।



उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिका–९ र ३२ तथा कागेश्वरी मनोहरा नगरपालिका– ४, ५, ६, ७, ८ र ९ वडाहरु पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौँ महानगरको ९ र सोही क्षेत्रमा पर्ने कागेश्वरी मनोहराको ५, ७, ८ र ९ वडामा विजयी भएको छ । त्यस्तै एमाले काठमाडौँ महानगरको ३२ र कागेश्वरी मनोहराको वडा नं ४ मा विजयी भएको छ । 

कांग्रेसका वडाध्यक्षहरूले कुल नौ हजार ५७०, एमालेले १३ हजार ८१५, एकीकृत समाजवादीले पाँच हजार आठ सय ६१ र माओवादी केन्द्रका वडाध्यक्षले ९५० मत प्राप्त गरेका छन् । 

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालबाट महेश बास्तोला, नेमकिपाबाट अनिल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल (उपाध्याय), जनता समाजवादी पार्टी नेपालबाट गोपालबहादुर तण्डुकार, विवेकशील साझाबाट धनेज थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम, नेपाली कांग्रेस (बिपी)बाट हेमविक्रम सिलवाललगायतको उमेदवारी छ ।

क्षेत्र नं २ मा ४० मतदानस्थल र ९५ मतदान केन्द्र निर्धारण गरिएको छ । कुल मतदाताको सङ्ख्या ८१ हजार नौ सय ७० रहेको छ । जसमध्ये महिला ४० हजार नौ र पुरुष ४१ हजार नौ सय ६१ मतदाता रहेका छन् । रासस

Copy link
Powered by Social Snap