२०८१ बैशाख १३

सुर्खेतमा एमाले उमेदवारको आक्रामक प्रचार !




सुर्खेत । सुर्खेतमा आगामी मंसिर ४ को चुनावमा मुख्य प्रतिस्पर्धीका रूपमा लोकतान्त्रिक वाम गठबन्धन र नेकपा (एमाले)का उमेदवारलाई हेरिएको छ । तर, प्रचारमा भने एमालेका उमेदवार आक्रमक देखिएका छन् । चुनावी घोषणापत्र, एजेन्डा, प्रतिबद्धता सार्वजनिक गर्नेदेखि सामाजिक सञ्जालको प्रयोग, भिडियो, तस्बिर सार्वजनिक तथा घरदैलो प्रचारमा एमालेका उमेदवार आक्रमण देखिएका हुन् ।



Advertisement



शुक्रबार मात्रै एमालेका कर्णाली प्रदेश इन्चार्ज तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेशसभा सदस्यका उमेदवार यामलाल कँडेलले २८ बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरे । एमालेको पार्टी कार्यालय वीरेन्द्रनगरमा कँडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लाहरूमा उडानका लागि आवश्यक व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गरे । उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्ने आफ्नो पहिलो योजना रहेको बताउँदै आएका छन् ।

उनी एमालेबाट भावी प्रदेश मुख्यमन्त्रीको दाबेदारका रूपमा उमेदवारी दिएका छन् ।



प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा एमालेका उमेदवार मतदातासँग भोट माग्न घरदैलो कार्यक्रममा पनि आक्रामक भएर लागेका छन् । एमाले प्रतिनिधिसभा सदस्यका समानुपातिक उमेदवार गेहेन्द्र दाहालले वीरेन्द्रनगर नगरपालिकामा रहेको एयरपार्टको विस्तार एमालेको सरकारले गर्ने भन्दै प्रचारप्रसार गरिरहेका छन् ।

एमालेका प्रदेश उमेदवार ठम्मरबहादुर बिस्टले आफ्नो क्षेत्रमा प्रचारप्रसारको कार्यक्रम बिहान ६ बजेदेखि राति अबेरसम्म चलिरहेको बताए । एमालेका सुर्खेत क्षेत्र नम्बर १ (ख)का उमेदवार डण्डिप्रसाद शर्माले चुनावमा सामाजिक सञ्जाल, अडियो, भिडियो, पर्चा पम्पलेट, सञ्चारमाध्यमबाट प्रचार र मत माग्ने काम भइरहेको बताए । सूचना र प्रचारको पहूँच आम मतदातासम्म पुग्ने गरी प्रचार भइरहेको उनको भनाइ छ । 

सुर्खेत र समग्र कर्णाली प्रदेशमा वाम गठबन्धन र एमालेका उमेदवार नै मुखय प्रतिस्पर्धीका रूपमा देखिन्छन् । गठबन्धनका उमेदवार आफ्ना पार्टीका मतदाता जोगाउने र तितरबितर हुन नदिने सुरक्षित प्रचारमा छन् भने एमालेका उमेदवार विभिन्न नारा, एजेन्डा, प्रतिबद्धतासहित मतदा आकर्षिक गर्ने रणनितीमा देखिएका छन् । 

Copy link
Powered by Social Snap