२०८१ बैशाख ११

गठबन्धन १०/१५ वर्ष जारी रहनुपर्छ : प्रधानमन्त्री देउवा




धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०-१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् । डडेलधुरामा पहिलो चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले पनि गठबन्धनको राजनीतिले निरन्तरता पाउनुपर्ने बताएका हुन् ।



Advertisement



राजनैतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक भएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

स्थानी तह निर्वाचनपछि पहिलो पटक आफ्नो चुनावी क्षेत्रमा पुगेका प्रधानमन्त्री देउवाले सीमा समस्या दुई देशबीच हुने मित्रवत व्यवहारले मात्र समाधान हुन सक्ने बताए । राजनैतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको पनि देउवाले बताए । उनले भने, ‘लिपुलेक के खोसेर फिर्ता ल्याउन सकिन्छ ?’ प्रधानमन्त्री देउवाले विपक्षी एमाले नेता केपी ओलीको भोलि दार्चुलामा हुने कार्यक्रमलाई लक्षित गर्दै लिपुलेक र सीमा क्षेत्रका विषयमा आफ्नो धारणा राखेका हुन् ।



चुनावी सभामा देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन मतदातालाई दिए । उनले भने, ‘भारतीय पर्यटकलाई लक्षित गरी सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय क्षेत्र विकास मेरो पहिलो प्राथमिकता हुनेछ ।’ देउवाले गठबन्धनले जितेपछि राजनीतिले स्थायित्व पाउने र विकास पनि सम्भव हुने भएकाले सहयोग गर्न मतदातालाई आग्रह गरेका थिए ।

सातौं पटक प्रतिनिधिसभाको उम्मदेवारी दिएपछि देउवा पहिलो पटक डडेलधुरा आइपुगेका हुन् । उनीसँगै चुनावी प्रचारप्रसारका लागि कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहरालगायत नेताहरु छन् ।

Copy link
Powered by Social Snap