२०८१ बैशाख २३

एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ : ओली




काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् ।

बुुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ मा पार्टीका उमेदवार किरण पौडेलको प्रचार कार्यक्रममा उनले जनताले योपटक एमालेबाहेकलाई राष्ट्रिय शक्ति बनाउन नहुनेमा जोड दिए । एमालेलाई राष्ट्रिय शक्ति नबनाए देशका लागि दुर्भाग्य हुने उनको भनाइ थियो ।



Advertisement



अहिलेको सत्ता गठबन्धनले नै पुनः देशको नेतृत्व गरे विकास सम्भव नहुने जिकिर उनले गरे । गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै उनले जाली–किर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउन नहुने बताए ।

अध्यक्ष ओलीले उक्त परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको उल्लेख गरे ।



“यसपल्ट नेकपा (एमाले)बाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने, एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ,” उनले भने ।

उनले विकासको मूल फुटाउने कामको नेतृत्व युवा र एमालेले गर्ने भन्दै आफूहरूलाई समर्थन गर्न आग्रह गरे । वर्तमान सरकारलाई ‘अलछिना सरकार’को संज्ञा समेत दिए । देश बिगार्न नदिनका लागि एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उनको भनाइ छ ।

उनले आफू नेतृत्वको तत्कालीन सरकारले भूकम्पपछि सफल पुनर्निर्माण गरेको र काठमाडौंमा पुनर्निर्माण गरिएको धरहराले विरोधीहरूको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गरे ।

Copy link
Powered by Social Snap