२०८१ बैशाख १३

डडेलधुरामा यस्तो छ देउवाको कार्यक्रम


फाइल तस्बिर । गएको स्थानीय तह निर्वाचनका क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा आउँदाको दृष्य ।


डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यही कात्तिक १७ गते गृहजिल्ला डडेलधुरा आउने तय भएको छ । त्यस दिन आफ्नो निर्वाचन क्षेत्र पुगेर विभिन्न ठाउँमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले १७ गते अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।



Advertisement



“१८ गते बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,” साउदले भने ।

ती सभामा सत्ता गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य पदको उमेदवार रहेका खगराज भट्ट र गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने तयारी छ ।



०४८ सालदेखि निरन्तर डडेलधुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका देउवाले पहिलोपटक कम्युनिस्टको पनि साथ पाएका छन् । अहिले देउवाको प्रचारमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)का नेताहरू पनि संलग्न छन् ।

देउवाविरुद्ध लामो समय देउवाकै स्वकीयसचिव रहेका नेपाली कांग्रेस (बीपी)का कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाललगायत आठजना चुनावी मैदानमा छन् ।

देउवाले श्रीमती आरजु राणा देउवामार्फत आसन्न निर्वाचनका लागि उमेदवारी मनोनयनपत्र दर्ता गराएका थिए ।

Copy link
Powered by Social Snap