२०८० चैत्र १६

सेलिब्रिटीमात्रै विकल्प होइनन्, हामीले दिन्छौँ निकास : बञ्जाडे




काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको सरगर्मी देशभर लागिसकेको छ । 

अधिकांश पार्टीहरुले आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन् । र अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । 

यो पालिको चुनावमा जित्ने आशामा आजभोलि घरदैलो कार्यक्रममा व्यस्त छन् युवा उद्यमी एवम् राजनीतिकर्मी शंकर बञ्जाडे । 



Advertisement



विवेकशील साझाका उमेदवार बञ्जाडे काठमाडौं  क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा छन् । पेशाले व्यवसायी भए पनि उनी लामो समयदेखि चुनावको तयारीमा थिए ।

भन्छन्, “राजनीति बुझेर गर्नुपर्छ भनेरै यसमा स्नातकोत्तर गरेँ । राज्य कसरी सञ्चालन हुन्छ, त्यो कुरा बुझेको छु । पछिल्लो चुनावदेखि नै मैले तयारी सुरु गरेको थिए ।” 

काठमाडौं क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उमेदवार प्रकाशमान सिंहले पुनः उमेदवारी दिएका छन् ।  २०५१ सालदेखि निरन्तर चुनाव लड्दै आएका सिंहले चार पटक सो क्षेत्रबाट जितेर सांसद बनेका थिए । 



सो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेका युवा नेता किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत छन् ।

बञ्जाडेका अनुसार विवेकशील साझा पार्टी ‘कू’राजनीतिक संस्कारमा वैकल्पिक शक्ति बनेर आएको छ । 

भन्छन्, “स्वतन्त्रसहित ३२ जनाको उमेदवारी छ मेरो क्षेत्रमा । तर म जित्नेमा विश्वस्त छु । जनतालाई हामीले आफ्नो एजेन्डा बुझाएका छौँ । हाम्रोमा विकल्प भनेको केवल सेलिब्रिटी मात्र हो भन्नेजस्ता भ्रम आम मानिसमा पर्न गएको छ । जुन गलत हो । विकल्प भनेको हामी जस्ता युवा हौँ, जो आफ्नो पेशामा पनि अब्बल छौँ र देशको नीति नियम बनाउन पनि सक्षम छौँ ।”
 

Copy link
Powered by Social Snap