२०८१ बैशाख २०

सशस्त्र प्रहरीका दुई सई निलम्बित




काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले दुई जना नायव निरीक्षक (सई)लाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) छिन्नमस्ता सप्तरीका कमान्डर कृष्णबहादुर मगर र सशस्त्र प्रहरी बल २८ नम्बर गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी निलम्बनमा परेका हुन् ।



Advertisement



असोज २० मा छिन्नमस्ता बीओपीका सहायक निरीक्षक (असई) सत्यनारायण यादव भारतीय भूमिमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्यु शंकास्पद देखिएपछि घटनाको अनुसन्धान गर्ने क्रममा बीओपीकै जवान होमबहादुर खत्री पक्राउ परेका थिए ।

स्रोतका अनुसार खत्रीले नेपालतर्फ हत्या गरेर भारतीय भूमिमा लगेर शव मिल्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । खत्री हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय सूचना शाखाका प्रमुख डीएसपी शैलेन्द्र थापाका अनुसार घटनाको प्रारम्भिक छानबिनका क्रममा विभागीय नीति र आदेशविपरीत काम गरेको देखिएपछि उनलाई पनि थप अनुसन्धानका लागि निलम्बन गरिएको थियो ।

असईको मृत्युसम्बन्धी घटनाको अनुसन्धान गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एआईजी चन्द्रप्रकाश (सीपी) गौतमको नेतृत्वमा डीआइजी र एसपी सम्मिलित टोलीलाई पठाएका थिए । समितिको प्रतिवेदनकै आधारमा सई मगर निलम्बनमा परेका हुन् । उनी सशस्त्र प्रहरी बल प्रदेश २ तालीम शिक्षालय दरबन्दी भई घटनाको केही समयअघि मात्रै बीओपी कमान्डरका रुपमा खटिएका थिए ।



यसैगरी कपिलवस्तुको बाणगंगा नगरपालिका ३, सिउटीस्थित तौलिहवा जीतपुर सडकखण्डमा निर्वाचन सुरक्षा बेस स्थापनार्थ टोली पुर्‍याएर गण फर्किने क्रममा कात्तिक ४ गते सशस्त्र प्रहरीको ट्रक दुर्घटना भएको थियो । दुर्घटनामा सशस्त्रका सहायक हवल्दार, हवल्दार, जवान र साइकल यात्री अम्बर तङनमी गरी चार जनाको मृत्यु भएको थियो । सवारी कमान्डर थिए सई गोविन्द सुवेदी । सुवेदीसहित सशस्त्र सिपाही र प्रहरीका वरिष्ठ हवल्दार घाइते भएका थिए ।

गाडीमा रहेका सुरक्षाकर्मीको नेतृत्व सशस्त्र प्रहरी बल २८ नम्बर गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदीले गरेका थिए । सशस्त्र प्रहरीको स्थलगत छानबिनले दुर्घटनामा सई सुवेदीले लापरबाही र तोकिएको जिम्मेवारी पूरा नगरेको देखिएको थियो । सोही आधारमा थप अनुसन्धान गर्न उनलाई निलम्बन गरिएको सूचना शाखाका डीएसपी थापाले जानकारी दिए । सवारी र खटिएका सुरक्षाकर्मीलाई कमान्डमा राख्न नसक्दा घटना भएको आरोपमा उनी निलम्बनमा परेका हुन् ।

Copy link
Powered by Social Snap