२०८१ जेष्ठ ४

एमाले घोषणापत्रमा फेरि पानीजहाज र पूर्व-पश्चिम विद्युतीय रेल !




काठमाडौँ — नेकपा (एमाले) ले नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको छ । त्यस्तै, एमालेले पूर्व-पश्चिम राजमार्गसँग समानान्तर हुनेगरी विद्युतीय रेलमार्ग पनि सञ्चालन गर्ने बताएको छ ।



Advertisement



काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै केपी शर्मा ओलीले नेपालको विकासका लागि त्यसको आवश्यकता रहेको पनि बताएका छन् । ‘छिमेकी मित्र राष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याइनेछ । नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ,’ एमालेको यसपटकको घोषणापत्रमा उल्लेख छ, ‘निर्माणाधीन पूर्व-पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास-निजगढ खण्डको निर्माणकार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ, निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइनेछ, बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिने छ । रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया सरु गरिनेछ । सबै महानगरहरूमा काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पड-वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनको लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिने छ ।’



२०७४ को प्रतिनिधिसभा निर्वाचनका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री घोषणा गरेर पार्टी एकताको वाचासहित एमाले र माओवादीले घोषणापत्र ल्याएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा ‘पूर्व-पश्चिमसँगै मध्यपहाडी पुष्पलाल राजमार्गहरूमा समानान्तर तीव्र गतिका विद्युतीय रेलमार्ग सञ्चालन गरिने’ भनिएको थियो । त्यो घोषणापत्रमा काठमाडौं उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिका रेल सञ्चालन गरिने र अन्य सहरहरूमा मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने भनिएको थियो ।

पानीजहाज सञ्चालन गर्नेबारे पनि २०७४ को घोषणापत्रमा उल्लेख थियो । त्यो घोषणापत्रमा भनिएको थियो, ‘भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने छ ।’

२०७४ सालमा एमाले र माओवादी केन्द्र गठबन्धनले झन्डै दुईतिहाइ सिट जितेको थियो भने ओली साढे ३ वर्ष प्रधानमन्त्री बनेका थिए ।

Copy link
Powered by Social Snap