२०८१ बैशाख २३

प्रतिस्पर्धी उमेदवारमाथि नेता केसीको कटाक्ष– उहाँलाई सिंहदरबार कहाँ हो सोध्दै हिँड्नुपर्छ




काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले आसन्न निर्वाचन जित्नु नै आफ्ना लागि पहिलो महत्त्वपूर्ण कुरा भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले काठमाडौंवासी सोलुखुम्बुका मतदातालाई चुनावअगावै निर्वाचनमा भोट हाल्न पठाइदिन पार्टी समन्वय समितिहरूलाई निर्देशन दिए । उनले मतदातालाई जिल्ला पठाउँदा अरू पार्टीका मानिस पनि त्यही हुलमा मिसिन सक्ने भन्दै सचेत रहन आग्रह गरे ।



Advertisement



नामै किटान गरेर उनले नेकपा (एमाले)का कार्यकर्ताहरू पनि गठबन्धनको हुलमा मिसिएर आफूले पठाएको सवारीसाधनबाट जिल्ला जान सक्ने आरोप लगाए । आफू ६ पटक निर्वाचन लडिसकेको अनुभवका आधारमा विगतमा पनि यस्ता गतिविधि भएको उनले सुनाए ।

गठबन्धनको बलमा सोलुखुम्बुबाट उमेदवार बनेका नेता केसीले एमालेबाट आफ्ना प्रतिस्पर्धी रहेका नेता मानवीर राईप्रति इंगित गर्दै सिंहदरबार नै नचिनेको मानिसलाई जनताले चुन्न नहुने बताए ।

उनले ‘एमाले उमेदवार राईले सिंहदरबार कहाँ छ ?’ भनी सोध्नुपर्ने स्थिति रहेको टिप्प्णी गरे । एमाले उमेदवार राई आफैँ ‘बलबहादुर केसीसँग कहाँ जित्नु’ भनेर हिँडेको उनको भनाइ छ ।



आफूलाई सिंहदरबारमा कहाँ ढुकुटी छ र कहाँ फाइल छन् भन्ने कुरा सबै थाहा भएको तर एमालेका उमेदवारको केन्द्रसँग कुनै ‘लिंक’ नभएको बताए । आफूलाई जिताए जिल्लामा विकास निर्माणले गति लिने उनले उल्लेख गरे ।

“एमालेलाई किन जिताउने, १ नम्बर प्रदेशको नाम नै राख्न सकेन । मुख्यमन्त्री भए नाम राख्न सकेका छैनन् । केही गर्न नसक्नेलाई पठाएर केही हुने छैन । नेपाली कांग्रेस र गठबन्धनलाई केन्द्रमा जिताउनुभयो भने सिंहदरबार कहाँ छ, कुन कोठामा ढुकुटी छ, कुन कोठामा फाइल छ, मलाई थाहा छ, निकालेर ल्याएर सोलुका जनताका लागि सेवा गर्छु,” उनले भने, “हाम्रो एमालेका नेतालाई पुतलीसडकमा गएर ए दाजु, कता हो सिंहदरबार भन्नुपर्ने अवस्था छ । उनीहरूले त्यस्तो नेतृत्व अघि सारेको छ । उहाँलाई केन्द्रको केही थाहा छैन । बलबहादुर दाइसँग के जितिन्छ र नलडीकन पनि भएन भन्दै हिँड्नुहुन्छ ।”

नेता केसीले गठबन्धनले देश, जनतालाई फाइदा हुने काम गर्ने जिकिर गरे । एनएएन/एजेन्सी ।

Copy link
Powered by Social Snap