२०८१ बैशाख १५

माओवादी र कांग्रेस मिलेर रोल्पाबाट शान्ति र सहकार्यको सन्देश दिन्छौं : पुन 




रोल्पा — माओवादी केन्द्र र कांग्रेसले रोल्पामा मिलेर शान्ति र सहकार्यको सन्देश दिन चाहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताएका छन् । सत्तारुढ गठबन्धनद्वारा आयोजित संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार पुनले सोमबार उक्त कुरा बताएका हुन् । 



Advertisement



माओवादी एक्लै पनि रोल्पाबाट जित्न सक्ने बलियो आधार रहेको अवस्थामा राष्ट्रिय स्तरमा नै सत्तारुढ दलहरूबीच सहकार्य भएकाले मिलेर अगाडि बढेको पुनले बताए । रोल्पामा माओवादी र कांग्रेस सहकार्य गरेर जाँदा दुई दलबीच विश्वासको वातावरण बनेको मिलेर उम्मेदवारी दिएको उनले बताए । विगतमा दुई फरक ध्रुवमा रहेर भिडेका शक्ति कांग्रेस र माओवादी मिल्दा मात्र समाजमा शान्ति स्थापना हुने तथा मेलमिलापको वातावरण बन्न सक्ने उनको भनाइ थियो । रोल्पा निर्वाचन क्षेत्र प्रदेशसभा (२) मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सत्ता गठबन्धनका उम्मेदवार छन् ।



माओवादी केन्द्र र कांग्रेसबीच जनयुद्धको उद्गम रोल्पामा सहकार्य भएकाले शान्ति प्रक्रियालाई पूर्णता दिन र समाजमा मेलमिलाप स्थापित गर्न सहज हुने पुनको भनाइ थियो । ‘जुन शक्तिका बीचमा लडाईं भयो ती शक्ति मिलेर मात्र समाजमा शान्ति कायम हुने हो’, पुनले भने, ‘जसलाई द्वन्द्वको घाउले दुःखाएको छ, शान्तिको महत्त्व उसलाई जति अरुलाई थाहा हुँदैन ।’

माओवादी र कांग्रेस सहकार्य चुनावपछिको सरकारका लागि मात्र नभई संविधान र लोकतन्त्र रक्षाका लागि भएको पुनको भनाइ थियो । उनले नेपालमा लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि माओवादी र कांग्रेस मिल्नुपर्ने अवस्था आएको बताए । ‘पटकपटक संविधान र लोकतन्त्र मास्ने प्रयास भयो, हिजो हामी मिलेर त्यो प्रयास असफल पारेका हौं । संविधान र व्यवस्थाको रक्षाका लागि हामी मिल्नुपर्ने बाध्यात्मक अवस्था आएको छ,’ उनले भने ।

पुनले दिगो शान्ति, राजीतिक स्थायित्व तथा विकासको लागि माओवादी र कांग्रेस सहकार्यमा आएको भन्दै दुवै दलका कार्यकर्ताहरूलाई विगतका तिक्तता बिर्सेर राष्ट्रिय आवश्यकताका आधारमा मेलमिलाप र सहकार्य गर्न आग्रह गरे ।

Copy link
Powered by Social Snap