२०८१ बैशाख ८

खोटाङमा बलियो एमालेलाई गठबन्धन बन्दैछ भारी




काठमाडौं । प्रदेश नम्बर १ अन्तर्गतको खोटाङ पहाडी जिल्ला हो । यो जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि एक क्षेत्र रहेको छ । सोही क्षेत्रबाट प्रतिनिधि सभामा भित्रिन नेकपा (एमाले)को तर्फबाट पोलिट्ब्युरो सदस्य विशाल भट्टराई र गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रामकुमार राई (पासाङ)ले उमेदवारी दिएका छन् ।



Advertisement



भट्टराई यसअघि पनि निर्वाचित संघीय सांसद हुन् भने पासाङ प्रदेशसभा सदस्य हुन् ।

स्थानीय तहको मत परिणाम हेर्दा जिल्लामा एमाले अरू पार्टीभन्दा बलियो देखिन्छ । तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी एक आपसमा मिल्दा एमालेका उमेदवारलाई भारी पर्ने देखिन्छ । 

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूको पाएको मतलाई आधार मान्दा एमालेको मत करिब २९ हजार रहेको छ भने कांग्रेसको साढे २७ हजार, माओवादी केन्द्रको करिब १८ हजार, जनता समाजवादी पार्टीको करिब तीन हजार, एकीकृत समाजवादीको दुई हजार १०० तथा स्वतन्त्र र राप्रपाको करिब दुई हजार मत रहेको निर्वाचन आयोगले जनाएको छ । 

यो मत परिणामलाई आधार मान्दा कांग्रेस, माओवादी र एमाले एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका भए एमालेको मत बढी रहन्थ्यो तर पाँच दलीय गठबन्धनले गर्दा एमालेलाई असर पर्ने स्थानीय नेताहरु बताउँछन् ।



यसअघि कांग्रेस नेता सर्बधन राईले उमेदवारी दिए पनि फिर्ता लिएका छन् । त्यसैले अब पासाङ र भट्टराईबीच नै प्रतिष्पर्धा हुने देखिन्छ । 

खोटाङमा १० वटा पालिका छन् । जसमा दुईवटा नगरपालिका छन् भने आठवटा गाउँपालिका छन् । यी गाउँपालिका र नगरपालिकामा कुल ७९ वडा रहेका छन् । 

१० पालिकामध्ये ६ वटा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने बाँकी चार पालिकामध्ये दुई वटामा एमाले र दुई वटामा माओवादी केद्रले जित हासिल गरेको छ ।

गठबन्धनको पल्ला भारी पर्न सक्छ भट्टराईलाई

एमाले, कांग्रेस र माओवादी केन्द्र एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका भए एमालेलाई जित हासिल गर्न सहज हुन्थ्यो । 

तर, गठबन्धनले गर्दा भट्टराईलाई सकस पर्ने देखिन्छ । स्थानीय तहको वडाअध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्दा गठबन्धनमा ५० हजारभन्दा बढी मत देखिन्छ ।

तर, एमालेका वडाअध्यक्षहरूले मात्र पाएको मत करिब २९ हजार रहेको छ । 

Copy link
Powered by Social Snap