२०८१ बैशाख १३

कांग्रेसको काखमा बसेर माओवादीले शासन गर्दै छ : दिनेश कोइराला




काठमाडौं । चितवन–३ मा स्वतन्त्र उमेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले नेकपा (माओवादी केन्द्र)ले कांग्रेसको काखमा बसेर शासन आफूले गरिरहेको बताएका छन् । आफ्नो उमेदवारीको औचित्य बताउन पत्रकार सम्मेलन गरेका कोइरालाले देश सीमित गिरोहको चंगुलमा परेको बताए । 



Advertisement



“अहिले कांग्रेसको शासन छ । कांग्रेसको काखमा बसेर माओवादी तथा साना पार्टीहरुको शासन छ । झट्ट हेर्दा दलीय शासन नै चलिरहेको जस्तो भान हुन्छ  । तर, वास्तविकता सबैले बुझेका छन्,” कोइरालले भने, “वास्तविकता के हो भने केही परिवारको गिरोहले देशमा शासन गरिरहेको छ । उनीहरुलाई देशको मतलब छैन, जनताको मतलब छैन, विकास र समृद्धिसँग वास्तै छैन ।” 

उनले शासन सत्तामा हुनेलाई परिवार र नातागोताको मात्र चिन्ता देखिएको भन्दै आफ्नो परिवारले कसरी पार्टी र देश कब्जा गर्ने भन्नेमा उनीहरुको ध्यान केन्द्रित रहेको बताए । 

“यस अर्थमा आज लोकतन्त्रलाई पिँजडाको सुँगा बनाइएको छ । अब लोकतन्त्रलाई जनताको घर आँगनमा पुर्याइनेछ,” कोइरालाले भने, “केही परिवारका लागि लोकतन्त्र हुने, बाँकीले दास बन्नुपर्ने विकृत प्रथा मान्न कुनै हालतमा सकिँदैन । यसैका विरुद्ध हामीले शान्तिपूर्ण र रचनात्मक क्रान्ति थालनी गरेका हौँ ।”

अहिले लोकतन्त्रलाई भ्रष्टतन्त्र बनाइएको भन्दै उनले परिवादले लोकतन्त्र नै जोखिममा पुगेको उल्लेख गरेका छन् । 

“अब कसैको छोराछोरी, श्रीमानश्रीमती, बुहारी या नातेदार भएको आधारमा राज्यसत्तामा पुग्ने मौका दिइने छैन । नेपालमा पारिवारिक शासन चल्न दिँदा १०३ वर्ष राणा शासन भोग्न परेको थियो,” कोइरालाले भनेका छन्, “लोकतन्त्रको खोल ओढेको नयाँ खालको राणा शासन या पारिवारिक शासन यो देशमा लाद्ने प्रयास भइरहेको छ ।” 

उनले अबका दिनमा त्यस्तो हुन नदिने दाबी गरे । भने, “अंश, वंश र अर्थको बलमा देश कब्जा गर्न अब एक दिइँदैन, दुई दिइँदैन, तीन दिइँदैन । देशभरका सबैले यो कुरा सुनुन्, यो कुरा बुझुन् ।”



उमेदवारी बागी/विद्रोही होइन, शान्तिपूर्ण क्रान्ति हो

उनले आफ्नो उमेदवारी कसैको बागी वा विद्रोही नभएको भन्दै शान्तिपूर्ण क्रान्तिका लागि आफ्नो उमेदवारी रहेको दाबी गरे । 

“हाम्रो उमेदवारीलाई कतिपयले बागी उमेदवारी भनेका छन्, कतिपयले विद्रोही उमेदवारी भनेका छन् । आआफ्नो दृष्टिकोण राख्न सबैजना स्वतन्त्र हुनुहुन्छ,” कोइरालले भनेका छन्, “तर, हामीले यो उमेदवारी बागी र विद्रोही अर्थभन्दा धेरै माथि र धेरै परको अर्थ लाग्ने गरी उमेदवारी दिएका हौँ ।”  

उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता देशका स्थापित राजनीतिक दलहरुले बाटो बिराउनु नहुने भन्दै यी दल देशका वर्तमान र भविष्य भएको उल्लेख गरेका छन् । 

“कांग्रेस र एमाले नै देशका वर्तमान हुन्, कांग्रेस र एमाले नै देशका भविष्य हुन् । यो कुरा कतिपयलाई चित्त बुझ्दैन होला । तर, धरातलीय यथार्थ यही हो,” कोइरालाले भनेका छन्, “राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न यी दुई पार्टीलाई ठिक बाटोमा हिँडाउन जरुरी छ । हामी साधारण पार्टी राजनीतिभन्दा माथि उठेर सोच्छौं । यी दलहरुलाई सही बाटोमा नहिँडाइ देश ठिक बाटोमा हिँड्न सक्दैन । तसर्थ, राष्ट्रिय राजनीतिमा हस्तक्षेप गरेर शान्तिपूर्ण तथा रचनात्मक क्रान्ति गर्ने हो भने मुख्य दुई पार्टीलाई सुधार्नै पर्छ ।”

Copy link
Powered by Social Snap