२०८१ बैशाख १३

गृहमन्त्री खाँणसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट




काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाणसँग बिदाइ भेट गरेकी छन् । कार्यकाल सकेर स्वदेश फर्कन लागेकी राजदूत यान्छीले बिहीबार गृह मन्त्रालयमा मन्त्री खाणसँग बिदाइ भेट गरेकी हुन् । 



Advertisement



गृहमन्त्रीको सचिवालयका अनुसार खाँणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको भन्दै नेपालको एक चीनन नीतिमा ढुक्क रहन आग्रह गरेका छन् । 

“नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ । नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ,” गृहमन्त्रीको सचिवालयले मन्त्री खाँणको भनाइ उद्धृत गर्दै भनेको छ, “छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा नेपाल सरकार संवेदनशील छ ।”



भेटमा खाँणले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताएको सचिवालयले जनाएको छ । 

“गृहमन्त्री खाणले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुलगायत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताउनुभयो,” मन्त्री खाँणको सचिवालयले भनेको छ ।

भेटमा नेपाल–चीनबिच कूटनीतिक सम्बन्धका साथै सामाजिक र सांस्कृतिक सम्बन्ध पनि रहेको भन्दै मन्त्री खाँणले नेपालको भौतिक विकास, प्राकृति विपद् र महामारीको बेलामा पुर्‍याएको सहयोगका लागि चिनियाँ सरकार र चिनियाँ जनतालाई राजदूत यान्छीमार्फत धन्यवाद दिएका छन् ।

राजदूत यान्छीलाई नयाँ महत्त्वपूर्ण जिम्मेवारीका लागि खाँणले शुभकामना पनि दिएका छन् ।

Copy link
Powered by Social Snap