२०८१ बैशाख ८

धनुषामा ६ जनाले लिए उमेदवारी फिर्ता




जनकपुरधाम । धनुषामा ६ जनाले उमेदवारी फिर्ता लिएका छन् । बुधबार निर्वाचन कार्यालयमा लिखित रूपमा पत्र बुझाएर उनीहरूले उमेदवारी फिर्ता लिएका हुन् । 



Advertisement



धनुषा क्षेत्र नम्बर १ को ‘ख’ मा बागी उमेदवारी दिएका कांग्रेसका लक्ष्मीनारायण मण्डल केवटले फिर्ता लिएका छन् ।

यहाँ पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रबाट मातृकाप्रसाद यादव, प्रदेशसभाको ‘क’ मा नेपाली कांग्रेसका सञ्जय कुमार महतो र ‘ख’मा लोसपाका संजय कुमार सिंह उमेदवार छन् ।

एमाले र जसपा गठबन्धनबाट जसपाका दीपक कार्की प्रतिनिधिसभाको साझा उमेदवार छन् ।

यस्तै, सोही क्षेत्रको प्रदेशसभा ‘ख’बाट पनि दुई जना स्वतन्त्र उमेदवारले उमेदवारी फिर्ता लिएका छन् । नेत्रदीप लामा र आन्नद मण्डलले स्वतन्त्र उमेदवारी दर्ता गराएका थिए । तर, बुधबार दुवै जनाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम खरेलले जानकारी दिए ।



निर्वाचन क्षेत्र नम्बर ४ मा पनि तीनजनाले उमेदवारी फिर्ता लिएका छन् । यो क्षेत्रमा प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका दुईजना र प्रदेशसभाका लागि ‘ख’ मा स्वतन्त्र उमेदवारी दर्ता गराएका एक जनाले उमेदवारी फिर्ता लिएका छन् । 

डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट प्रतिनिधिसभामा उमेदवारी दिएका किसुन यादव र नेपाल सद्भावना पार्टीबाट उमेदवारी दिएका राजेन्द्र महतोले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुदिप डङ्गोलले जानकारी दिए । उनका अनुसार अब यस क्षेत्रमा यी दुवै पार्टीका उमेदवार छैन् । सोही क्षेत्रको प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उमेदवारी दिएका रामदुलार महतोले पनि उमेदवारी फिर्ता लिएको उनले जनाए ।

यहाँ पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका महेन्द्र यादव, प्रदेशसभा ‘क’ मा शेषनारायण यादव र ‘ख’मा नेकपा (एकीकृत समाजवादी)का शत्रुधन महतो उमेदवार छन् । यहाँ एमाले र जसपाबीच तालमेल हुन सकेन ।

एमालेबाट रघुविर महासेठ र जसपाबाट महाजन यादव प्रतिनिधिसभाका उमेदवार छन् ।

धनुषाको निर्वाचन क्षेत्र २ र ३ बाट कुनै पनि उमेदवारले उमेदवारी फिर्ता लिएन । धनुषा ३ को ‘ख’ मा कांग्रेस नेता हरिशंकर साहले बागी उमेदवारी दर्ता गराएका छन् । यहाँ गठबन्धनबाट लोसपाका परमेश्वर साह उमेदवार छन् । 

यहाँ पाँच दलिय गठबन्धनबाट प्रतिनिधिसभामा लोसपाका अनिल झा, प्रदेशसभा ‘क’मा कांग्रेसका राम सरोज यादव र ‘ख’मा लोसपाका परमेश्वर साह उमेदवार छन् । एमाले जसपा गठबन्धनबाट प्रतिनिधिसभामा जुली महतो, प्रदेशसभाका लागि ‘क’मा एमालेका दिपेन्द्र ठाकुर र ‘ख’मा जसपाका जितेन्द्र यादव उमेदवार छन् ।  

Copy link
Powered by Social Snap