२०८१ बैशाख १४

कस्तो अवस्थामा उमेदवारी खारेज हुन्छ ?




काठमाडौं । मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबार उमेदवारहरूले मनोनयनपत्र दर्ता गराए । निर्वाचन आयोगले रित पुर्‍याएर आएका मनोनयनपत्रहरू दर्ता गरेर निस्सा दिएको छ ।



Advertisement



कानुन बमोजिमको रित नपुगेका मनोनयनपत्रलाई सच्याउनका लागि उमेदवारहरूलाई मौका दिइन्छ । तर कानुन विपरीत ल्याइएका मनोनयनपत्र भने बदर हुन्छन् ।

मनोनयनपत्र बुझाएका उमेदवारहरूविरुद्ध निजको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने उमेदवार वा निजको प्रतिनिधिले उजुरी दिन सक्दछन् । उमेदवारको विरोधमा उजुरी परेमा सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी मनोनयन  दर्ता हुने वा नहुने निर्णय हुन्छ । जुन आयोगले मंगलबार गर्दै छ । 

मंगलबार साँझ नै आयोगले उमेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ । 

मनोनयनपत्र दर्ता गरेका उमेदवारले नामावली प्रकाशन भएपछि उमेदवारी  फिर्ता लिन चाहेमा बुधबारसम्म उमेदवार आफैँ वा प्रतिनिधिमार्फत नाम फिर्ता लिन सक्नेछन् । बुधबार बेलुकी आयोगले उमेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ । अन्तिम नमावली प्रकाशनपछि उमेदवारले उमेदवारी फिर्ता लिन पाउँदैनन् । 



मनोनयनपत्र बदर हुने अवस्था 
नेपालको संविधान र निर्वाचनसम्बन्धी ऐनमा प्रतिनिधिसभा वा प्रदेशसभाका लागि उमेदवारी दिने व्यक्ति २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, उमेदवारी दिने व्यक्ति मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्दछ ।

सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदमा बहाल रहेको व्यक्ति उमेदवार हुन पाउँदैनन् । तर, मनोनयनपत्र दर्ता गर्नु अगाडि नै पदबाट राजीनामा दिएमा भने उमेदवारी दिन पाइन्छ ।

निर्वाचनसम्बन्धी कानुनबमोजिम सजाय पाई, सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेका व्यक्तिले उमेदवारी दिन पाउँदैनन् । मनोनयनपत्र दर्ता गरेमा स्वतः खारेज भागी हुन्छ । 

भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागु औषध बिक्रि वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्तिले पनि उमेदवारी दिन नमिल्ने व्यवस्था रहेको छ । 

मनोनयनपत्र दर्ता गरेका व्यक्तिले संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तज्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा; जातीय भेदभाव तथा छुवाछूत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसुरमा कैध सजाय पाई त्यस्तो सजाय भुक्ता गरेको मितिले तीन वर्ष पूरा नभएको र अन्य कसुरहरूमा पाँच वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको रहेछ भने ती व्यक्तिको मनोनयन पत्र दर्ता गरिनेछैन ।

कानुन बमोजिम कालोसूचीमा रहेका, कैदमा बसिरहेका, मानसिक सन्तुलन ठिक नभएका व्यक्ति उमेदवार हुन अयोग्य मानिन्छन् । यस्ता योग्यता नपुगेका व्यक्तिहरूले मनोनयनपत्र दर्ता गरेको भएपनि जाँचबुझ गरी उनीहरूको मनोनयनपत्र रद्द हुन्छ ।

त्यस्तै, दोहोरो उमेदवारी दिएमा, सबै ठाउँमा मनोनयनपत्र बदर हुनेछ ।  यदि उमेदवार हुने व्यक्तिको मञ्जुरी नभएमा वा निज वा निजको प्रस्तावक र समर्थकको सहीछाप नभएमा वा किर्ते सहीछाप भएमा पनि मनोनयन बदर हुनेछ ।

यदि  मनोनयनपत्र दर्ता गर्दा, सोही निर्वाचन क्षेत्रको मतदाता नामावली नाम दर्ता भएको कम्तीमा एक जना प्रस्तावक र एक जना समर्थक नरहेको भए पनि मनोनयनपत्र बदर हुन सक्छ ।  अन्तिममा ऐन बमोजिम उमेदवारले  तोकिएको धरौटी दाखिला नगरेमा र ऐन बमोजिमका अन्य रित नपुगेको भएमा मनोनयनपत्र बदर हुन्छ । 

यसका साथै  प्रदेशसभाको उमेदवार हुन सम्बन्धित प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ ।

Copy link
Powered by Social Snap