२०८१ बैशाख ७

देउवाविरुद्ध कर्ण मल्लको उजुरी, नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति




डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको उमेदवारी रद्द गर्न उजुरी परेको छ । डडेलधुराबाट प्रतिनिधिसभामा उमेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी परेको हो । 



Advertisement



नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ । 

नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै बीपी काँग्रेसका तर्फबाट उमेदवार रहेका कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् । 

डडेल्धुरा कांग्रेसका पूर्वसभापतिसमेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहेका छन् । 

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाविरुद्ध उजुरी परेको पुष्टि गरे । उनले थपे, “उमेदवारको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी परेको छ । हामी कारबाही अगाडि बढाउछौं ।”

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहनु ठुलै समस्या नरहेको बताए । 



“मतदाता नामावलीमा रहेको त्रुटि सच्याउनका लागि समय दिइएको थियो,” उनले भने, “सो समयमा सम्बन्धित व्यक्तिले त्रुटि रहेको जानकारी नपाएकाले त्यस्तो समस्या आएको हुनसक्छ ।”

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि डडेल्धुरामा शेरबहादुर देउवासहित ११ जना उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । 

यसैगरी प्रदेशसभा सदस्यतर्फ १४ जनाले उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Copy link
Powered by Social Snap