२०८१ बैशाख ७

महामन्त्री गगन र सिटौलालाई राखेर देउवाले थाले लोसपासँग वार्ता




काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग नेपाली कांग्रेसले वार्ता थालेको छ । जसपाले गठबन्धन छाडेर एइमालेसँग तालमेल सुरु गरेपछि लोसपालाई गठबन्धनमा ल्याउने सत्ता गठबन्धनले देउवालाई वार्ता र सहमतिको अधिकार सुम्पिएको थियो । सोहीअनुरुप हिजो साँझ बैठक बोलाएका देउवाले आज महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौलालाई राखेर पुनः वार्ता थालेका हुन् । 



Advertisement



लोसपाले हिजोको बैठकमा संघमा १३ सिट र प्रदेशमा ३० सिट दाबी गरेको थियो । उसले मधेस प्रदेशमा मुख्यमन्त्री पाउने गरी सहमति भए संघमा लचिलो हुने संकेत गरेको छ । कांग्रेसले भने संघमा ८ देखि १० र प्रदेशमा १९ सिट लिएर गठटबन्धनमा सामेल हुन लोसपालाई आग्रह गरेको छ । 

लोसपा नेताहरुले कांग्रेसको प्रस्ताव सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्नो दाबी र गठबन्धनका तर्फबाट आएको प्रस्तावका विषयमा बताउन चाहेका छैनन् । 



“पहिला कुरा मिल्न दिनुस् न कतिमा मिल्यो भनेर थाहा पाइहाल्नुहुन्छ,” लोसपा नेता लक्ष्मणलाल कर्णले भने, “हामी पुनः छलफलमा छौँ । सम्भवत आजै सहमतिको जानकारी पाउनुहुनेछ ।” सत्ता गठबन्धनमा ८४ सिट मात्र पाएको कांग्रेसले लोसपासँगको वार्तापछि ९० भन्दा बढी सिटमा चुनाव लड्ने तयारी गरेको छ । मधेस प्रदेश अन्तर्गतका जिल्लाका कांग्रेसका आकांक्षीहरु लोसपासँगको वार्तापछि व्यवस्थापन हुने कांग्रेस नेताहरुको आंकलन छ ।

Copy link
Powered by Social Snap