२०८० चैत्र १६

अध्यक्ष बन्न ओलीसँग भिडेका रावललाई एमालेले टिकट नै दिएन 




काठमाडौं । नेकपा (एमाले)को दशौँ महाधिवेशनका केपी शर्मा ओलीसँग चुनाव लडेका भीम रावल आगामी प्रतिनिधिसभा चुनावमा टिकटबाटै बञ्चित भएका छन् । 

चितवनमा भएको दशौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा चुनाव लडेका रावललाई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले टिकट नदिएको हो ।



Advertisement



०७४ को निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट रावल निर्वाचित भएका थिए । रावल निर्वाचित क्षेत्रमा माओवादीबाट आएका झपड बोहोराले टिकट पाएको एक नेताले बताए । 

“भीम रावलजीले टिकट पाउने काम नै गर्नुभएन । एमालेकै खेदो खनेर बस्नुभयो,” सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एक नेताले भने, “उहाँले पार्टी केही पनि होइन, सबैथोक म नै हो भन्ने शैली देखाउनुभयो ।”

ती नेताले रावल निर्वाचित क्षेत्रमा झपट बोहोराले टिकट पाएको पुष्टि गरे । रावलले भने आफूलाई आधिकारिक जानकारी आइनसकेको बताए । 



टिकट पाएका बोहोराले पनि आफूले सञ्चारमाध्यमबाट मात्रै सुनेको बताए । “मलाई पनि अपुष्ट खबर आएको छ । आधिकारिक जानकारी आइसकेको छैन,” उनले भने । 

एमाले अछामबाट एकल सिफारिसमा परेका रावलले भने आधिकारिक जानकारी पछि मात्रै प्रतिक्रिया दिने बताए । उनले सञ्चारमाध्यमबाट भने आफूले टिकट नपाएको सुनिरहेको बताए । 

“तपाईंले जस्तै मैले पनि सञ्चारमाध्यबाट सुनिरहेको छु । तर, आधिकारिक जानकारी पाएको छैन,” रावलले भने, “ आधिकारिक सूचनापछि म आफ्नो धारणा सार्वजनिक गर्नेछु ।”

रावलले वडादेखि निर्वाचन क्षेत्र हुँदै जिल्लासम्म एकल सिफारिस भएको भन्दै टिकट नपाएमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए । 

“संसद्मा राष्ट्र, राष्ट्रियता र जनहितका पक्षमा मत राखेको छु । त्यसकै आधारमा अछामका साथीहरुले वडादेखि निर्वाचन क्षेत्र र जिल्लाबाट एकल सिफारिस गर्नुभएको छ,” रावलले भने, “सिफारिसको मर्यादा राख्न पनि मैले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ ।”

Copy link
Powered by Social Snap