२०८० चैत्र १५

कैलालीमा उमेदवारी दर्ता गर्न दलहरूलाई छुट्टाछुट्टै समय निर्धारण




धनगढी । कैलालीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ मनोयन दर्ता गर्नका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । शुक्रबार कैलालीको निर्वाचन कार्यालय, प्रशासन र सर्वदलीयको बैठकले तालिकाअनुसार मनोनयन दर्ता गर्ने निर्णय गरेको हो । 



Advertisement



कैलालीमा उमेदवारी दर्ता गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले बिहान १० बजेदेखि ११ बजेसम्म, लोकतान्त्रिक समाजवादी पार्टीले बिहान ११ देखि १२ बजेसम्म र नेकपा (एमाले)ले दिउँसो १ बजेदेखि २ बजेसम्मका लागि समय पाएको छ । 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको दिउँसो २ देखि ३ बजेसम्म, नेपाल लोकतान्त्रिक पार्टी ३ देखि ४ बजेसम्म तथा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनका उमेदवारले साँझ ४ देखि ५ बजेसम्म उमेदवारी दर्ता गर्ने समय तालिका रहेको निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।



उमेदवारी दर्ताका समयमा भीडभाड र सम्भावित विवाद हुन नदिन सर्वदलीय छलफलबाट दर्ताको तालिका र आचारसंहिता बनाएको निर्वाचन कार्यालयका प्रमुख भट्टले जानकारी दिए । 

निर्वाचन आयोगले आइतबार उमेदवारी दर्ता गर्ने समय तोकेको छ । आयोगले आइतबार तोकेको समयमा सहजतासाथ मनोनयन दर्ता गराउनका लागि सुरक्षा निकाय तथा राजनीतिक दल मिलेर निश्चित् समय निर्धारण गरेका हुन् ।

निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचन आयोगको आचारसंहिता २०७९ पूर्ण रुपमा पालना गर्न सुरक्षा निकाय तथा राजनीतिक दलले सहमतिसमेत गरेका बताइएको छ । 

Copy link
Powered by Social Snap