२०७९ माघ २५

Advertisement

९ लाखमा सुरू गरेको कम्पनी, अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार




अहिले बजारमा उपलब्ध विभिन्न ब्रान्डका ‘रिफ्रेसमेन्ट ड्रिंक्स’ मध्ये रिलायबल ग्रुप अफ कम्पनीको उत्पादन ‘बदाम ड्रिंक्स’ को माग बढ्दो छ। स्वस्थ र स्वादिलो हुनाले बजारमा यसले राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीका अध्यक्ष अशोक साह बताउँछन्।

‘हामी गाईको दूध, अलैंची, बदाम, केसर जस्ता कच्चा पदार्थको मिश्रणमा बदाम ड्रिंक्स बनाउँछौं,’ अशोकले भने, ‘विभिन्न फलफूल र ड्राइ फ्रुट्सको स्वादमा उत्पादन गर्दैछौं।’

रिलायबल नेपालले चकलेट बदाम, किमु बदाम, केसर बदाम, माउन्ट-फ्रेस बदाम जस्ता दर्जन प्रकारका बदाम ड्रिंक्स उत्पादन गर्दैछ। यसबाहेक कम्पनीले भियतनामको एक शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) को फ्रेन्चाइज लिएर नेपालमै इनर्जी ड्रिंक्स उत्पादन गरिरहेको छ। कम्पनीले बजारमा ‘रेड-ब्लू’ र ‘रेड-साओला’ पुर्‍याइरहेको छ।

अशोकले २०६६ सालतिर रिलायबल नेपाल आयात तथा निर्यात प्रालि नामक कम्पनी स्थापना गरेका थिए। यही कम्पनीलाई विस्तार गर्दै रिलायबल ग्रुप अफ कम्पनी बनाएका हुन्।



Advertisement



सुरूआती दिनमा कम्पनीले विदेशबाट विभिन्न प्रकारका खाद्य सामग्री आयात गरेर बजार पुर्‍याउँथ्यो। पहिलोपटक २०७० सालको मध्यतिर भारतीय खाद्य सामग्री भित्र्यायो। बिस्तारै सिंगापुर, थाइल्यान्ड, भियतनाम, दुबई, मलेसिया लगायत देशबाट खाद्यसँगै पेय पदार्थहरू पनि ल्यायो।

‘तीमध्ये एमटिआर फुड्सको बदाम ड्रिंक्स निकै रूचाइएको थियो। तर त्यसको आयातमा समस्या भयो। ढिलो आइपुग्थ्यो। आइपुगेपछि पनि छिट्टै दूध जम्ने समस्या हुन्थ्यो। हामी गुणस्तर मापन पनि गर्न सक्थेनौं,’ अशोकले भने, ‘यही कारणले ठूलो मात्रामा नोक्सानी पनि बहोर्नुपर्‍यो।’

२०७१ सालदेखि कम्पनीले भियतनामबाट इनर्जी ड्रिंक्स आयात सुरू गर्‍यो। त्यही बेला रिलायबल नेपालका सह-सञ्चालक एवम् प्रबन्ध निर्देशकका रूपमा अशोकका साथी मदन चुँडाल जोडिए। अशोकले कामको सिलसिलामा अन्तर्राष्ट्रिय बजारमा इनर्जी ड्रिंक्सको चलन बुझेका थिए। नेपालमा पनि यसको राम्रो माग देखेर भित्र्याएको उनी बताउँछन्।

उनले बुझेअनुसार नेपालमा इनर्जी ड्रिंक्स २०५७/५८ सालबाट आयात हुन थालेको हो। २०६५/६६ सालपछि यसले ठूलो बजार पाउन थाल्यो। उनले आयात गर्ने समयमा त इनर्जी ड्रिंक्स खाने ‘ट्रेन्ड’ नै थियो। तर २०७६ असारमा सरकारले क्याफिनयुक्त खाद्य तथा शक्तिवर्द्धक पेय पदार्थ आयातमा रोक लगायो।

त्यसपछि अशोकलाई आफैं इनर्जी र बदाम ड्रिंक्स उत्पादन गर्ने हुटहुटी चल्यो। उनी आयातित बदाम ड्रिंक्सबाट सन्‍तुष्ट पनि थिएनन्। त्यसैले पनि यो सोचमा पुगेको बताउँछन्। 

‘हामीले नेपालमै यस्ता ड्रिंक्स उत्पादनको सम्भावनाबारे अध्ययन थाल्यौं। सुरूमा बदाम ड्रिंक्सको कारखाना स्थापना गर्ने सोच्यौं,’ अशोकले भने।

यो सोचसँगै कम्पनीले सुनसरीको इटहरीमा १४ कट्ठा जग्गा भाडामा लियो। त्यहीँ कारखाना स्थापना गर्ने पक्का भएपछि अशोकले ताइवान, चीन, भारत, जर्मनी लगायत विभिन्न मुलुकबाट मेसिन ल्याए। मेसिन जडान गरेको ४६ औं दिनमा उत्पादन सुरू भयो। आवश्यक ८० प्रतिशत कच्चा पदार्थ स्थानीय स्तरबाटै लिएको र बाँकी आयात गरेको उनले बताए।

उत्पादित सामग्री बजार पुर्‍याउने सोच्दै थिए, कोरोना लकडाउन भयो।

‘उत्पादन बजार पुर्‍याउन नपाउँदै लकडाउन भयो। केही समय त कसरी गर्ने भन्ने अलमल भयो,’ अशोकले भने, ‘लकडाउनका बाबजुद हामीले राम्रो व्यापार गर्‍यौं।’

अशोकका अनुसार बदाम ड्रिंक्सको मार्केटिङका लागि सुरूमा उनीहरू अस्पताल पुगे। अस्पतालका डाक्टर र कर्मचारीले खाएर, यसको गुणस्तर पुनः जाँच गरेपछि बदाम ड्रिंक्स बिरामीहरूले पनि खान थाले। अस्पताल हुँदै बिरामीहरूको घरघरमा बदाम ड्रिंक्स पुगेको उनी बताउँछन्।

इनर्जी ड्रिंक्सको उत्पादन भने १५ महिनाअघि मात्र भएको हो। इनर्जी ड्रिंक्समध्ये रेड-ब्लू मासिक ६० देखि ६५ हजार कार्टन र रेड-साओला मासिक ३५ देखि ४० हजार कार्टन बिक्री भइरहेको उनले बताए। यसबाहेक बदाम ड्रिंक्स मासिक ३७ देखि ३८ हजार कार्टन बिक्री हुँदैछ। एक कार्टनमा २४ वटा क्यान हुन्छ। 

बदाम ड्रिंक्स एक क्यानको ८५ रूपैयाँदेखि ९५ रूपैयाँ पर्छ भने इनर्जी ड्रिंक्स १०० रूपैयाँदेखि १५० रूपैयाँसम्म।



हाल कम्पनीले आफ्नो क्षमताभन्दा कम उत्पादन गरिरहेको छ। कम्पनीसँग दैनिक ६ हजारदेखि १२ हजार कार्टनसम्म उत्पादन गर्ने क्षमताका मेसिन छन्। तर बजार माग कम भएकाले उत्पादन कम गरेको अशोकले बताए।

रिलायबलले प्याकेजिङ गर्न चाहिने क्यानका लागि चीन, भियतनाम र हङकङका कम्पनीसँग सहकार्य गरिरहेको छ। प्याकेजिङमा लेबलिङ (नाम, प्रयोग भएको सामग्री, कम्पनीको नाम, मूल्य) लगायत छापिएरै आउँछ।

‘यहीँ बनाउन नसकिने होइन, तर लागत बढी हुन्छ। त्यसैले अहिले क्यानहरू आयात गर्दैछौं,’ अशोकले भने, ‘सामान्य र प्रिमियम गरी दुई प्रकारको क्यान हुन्छ।’

बदाम ड्रिंक्स नेपालमै उत्पादन गर्ने पहिलो कम्पनी रिलायबल नै भएको अशोकको दाबी छ।

‘बदाम ड्रिंक्स हरेक उमेरका लागि उपयुक्त छ। यो बढी मात्रामा तराई क्षेत्रमा रूचाइन्छ,’ उनले भने, ‘इनर्जी ड्रिंक्स भने प्रायः युवा पुस्ताको रोजाइमा पर्छ। विशेषगरी पर्यटकीय गन्तव्य भएका जिल्लामा बढी।’

रिलायबलको बदाम ड्रिंक्स अन्तर्राष्ट्रिय बजारमा पनि पुगेको छ। अशोकका अनुसार गत साउनदेखि भारत, अस्ट्रेलिया र अमेरिकामा पुगिसकेको छ। निकट भविष्यमा कतार लगायत देशमा निर्यात हुँदैछ। इनर्जी ड्रिंक्सको निर्यातमा पनि कम्पनीले जोड दिइरहेको छ।

बजार प्रतिस्पर्धालाई सकारात्मक मान्ने अशोक आफूहरूले गुणस्तरीय उत्पादनमा जोड दिएको बताउँछन्।

सिरहाका अशोक उच्च शिक्षा र रोजगारको सिलसिलामा २०५६ सालतिर काठमाडौं आएका हुन्। यहाँ उनले ल्याब टेक्निसियनको पढाइ र काम थाले। करिब ६ महिना सरकारी जागिरे पनि भए। सन्तुष्टि नभएपछि निजी मेडिकलमा लागे। निजी क्षेत्रमा दुई वर्ष काम गरे।

२०६२/६३ सालतिर जागिर छाडेर व्यसायमा लाग्ने योजना बनाए। केही समय सहकार्यमा काम गरे। सोचेजस्तो नभएपछि उनी एक्लै अन्य व्यवसायमा लाग्ने सोचे। त्यही बेला उनले खाद्य सामग्री आयात-निर्यात व्यवसायमा लाग्ने योजना बनाएका हुन्। त्यो योजनासँगै भारतको दिल्ली र बैंगलोर पुगेर त्यहाँको बजार अध्ययन गरे। अनि विभिन्न सामग्री आयात गरेर काम थाले।

‘म व्यापारिक पृष्ठभूमिको हुँ। जागिरभन्दा व्यापारमै लाग्ने सोचेर आयात-निर्यात व्यवसायमा लागेँ,’ अशोकले भने, ‘सुरूमा नेपाली बजारले रूचाउने खाद्यवस्तु आयात गरेँ। बिस्तारै सामग्रीमा विविधता ल्याएँ।’

उनका अनुसार कम्पनी नौ लाख रूपैयाँ लगानीमा सुरू भएको थियो। अहिले वार्षिक एक अर्ब बढीको कारोबार हुन्छ। हालै कम्पनीको मुख्य कार्यालय सिनामंगलमा सरेको छ। यसअघि तीनकुनेमा एउटा सानो कोठामा थियो।

चुनौतीपूर्ण काम गर्न रमाइलो मान्ने उनी भन्छन्, ‘चुनौतीपूर्ण काम गर्न रमाइलो लाग्छ। नयाँ कुरा सिक्दै आफ्नो क्षमता देखाउने त्यस्ता काममै हो भन्ने लाग्छ।’

हाल रिलायबलमा विभिन्न क्षेत्रमा गरी २९० जना कर्मचारी छन्। कम्पनीले इटहरीमा चार बिघा जमिन किनेको छ। यहाँ कारखाना स्थापना गर्ने र भविष्यमा बदाम र इनर्जी ड्रिंक्ससँगै बिस्कुट, चकलेट, चिप्स लगायत खाद्यवस्तु उत्पादन गर्ने योजना रहेको अशोकले बताए। त्यस्तै आफ्नै ब्रान्डमा ‘रिलायबल ड्रिंक्स’ उत्पादन गर्ने योजना पनि छ।

‘अहिले हामी आयातभन्दा आफैं उत्पादन गर्न जोड दिँदैछौं। त्यसैले विभिन्न क्षेत्र र बजार माग अनुसारको खाद्यवस्तु उत्पादनको तयारीमा छौं,’ उनले भने। 

Copy link
Powered by Social Snap