२०७९ मंसिर २२
Advertisement

Advertisement

दुई वर्षमा ३ वटा शाखा, १६ थरी स्वाद




चिया, साथी र गफ। यति भए हामीलाई के चाहियो! तर चियासँगै मनपर्ने मान्छेसँग मीठो गफका लागि यहाँ खोजे जस्तो ठाउँ नै कति छ र?

जाडो होस् वा गर्मी, जहाँ पुगे पनि चिया पिउन रुचाउने राजिव शाही र विष्णु घिमिरेलाई पनि यस्तो ठाउँको अभाव खट्किन्थ्यो।

आफ्नै व्यवसाय गरौं भन्ने सोच राखेका विष्णु र राजिवको यही अनुभवले चिया व्यवसायमा सम्भावना देखे। २०७४ तिर त्यही सम्भावनाले सञ्चालन गरे ‘चिया घर’।



राजिव र विष्णुसँगै थप चार जनाको लगानीमा सुरू भएको चिया घर हाल यी दुईबाहेक कृष्ण गिरीले सम्हाल्दै छन्।

चिया घरको विशेषता हो, यहाँ पाइने सोह्र स्वादका चिया र पारिवारिक वातावरण।

‘चिया पसल भन्नासाथ सानो ठाउँ, खचाखच मान्छे अनि अशान्त वातावरण बुझ्छौं। कि भने क्याफे, रेस्टुरेन्ट। हामीलाई यो छवि पनि फेर्नु थियो,’ सञ्चालक राजिव भन्छन्, ‘गाउँ–घरमा परिवारसँग चिया खाँदै आँगनमा गफिन्छौं नि! त्यही वातावरण यहाँ दिन खोजेका छौं।’

बिहान ८ देखि बेलुकी ८ बजेसम्म भरिभराउ चिया घरमा ग्राहक प्रभाव राम्रो रहेको उनी मान्छन्। बिहानपख बुढाबुढी पत्रिकासँगै चियामा मस्त देखिन्छन्। दिउँसो कलेजका केटाकेटी र युवायुवती चियासँगै गफिन्छन्। साँझ दिनभरको थकान मेट्न अफिसका साथीसंगी यहाँ पुग्छन्।

चिया घरको चिया। तस्बिर सौजन्यः राजिव शाही

हरेक समय ग्राहक चिया र गफसँगै झुलेका पाइन्छन्।

यहाँ इन्टरनेट छैन। ‘चिया, साथी र गफ’ लाई मुख्य विषयवस्तु बनाइएको छ। अर्थात् यहाँ ग्राहक चियासँगै गफिन आउँछन्। प्राविधिक पहुँचभन्दा केही पर।

राजिवका अनुसार इन्टरनेट नहुँदा ग्राहक एक–आपसमा खुल्छन् अनि सम्बन्ध विस्तार गर्छन्।

भन्छन्, ‘यहाँ आउने ८० प्रतिशत ग्राहक मोबाइल चलाउनुहुन्न।’

यिनै विशेषताले छोटो समयमै चिया घर काठमाडौंबाहेक ललितपुर र भक्तपुरमा पनि फैलिसकेको छ। २०७४ मंसिरमा बानेश्वरबाट सुरू चिया घर २०७५ फागुनदेखि पेप्सिकोला र २०७६ पुसदेखि कुमारीपाटीमा पनि खुलेको छ।

अर्घाखाँचीका राजिव सानैमा परिवारसँग काठमाडौं आए। बानेश्वर बसेका उनीसँगैका साथी भए विष्णु। २५ वर्षीय विष्णु सिन्धुलीका हुन्। एउटै टोलमा हुर्केका राजिव परिचयमा भन्छन्, ‘हामी त गुच्चा खेल्दादेखिको साथी।’

कृष्ण भने राजिवभन्दा कान्छा हुन्। नेपालगञ्जका उनको भेट राजिवसँग २०७४ को ‘न्यू एयर म्युजिक इभेन्ट’ संगठन गर्ने क्रममा भएछ।

‘त्यो बेला उहाँहरू कार्यक्रमको योजना बनाउँदै हुनुहुन्थ्यो। क्याफेमा थियौं। हामी पनि सहभागी हुने प्रस्ताव राख्यौं। चिनजान भयो,’ कृष्णले आफूहरूको सम्बन्धबारे सुनाए, ‘धादिङमा भएको कार्यक्रम भव्य रह्यो। त्यसपछि हाम्रो सम्बन्ध नजिकियो।’

भर्खर प्लस टु सकेर बसेका कृष्ण आफ्नो खर्च आफैं जोहो गर्न चाहन्थे। यही सोचमा अडेका उनी आफ्नै व्यवसाय चाहन्थे। परीक्षा सकेर बसेका कृष्ण साथीसँग मिलेर क्याफे खोल्ने योजना बुन्दै थिए।

उता राजिव र विष्णु पनि आफ्नै व्यवसाय गर्ने तरखरमा थिए। उनीहरूबीच कुराकानी र सल्लाहपछि एक पुरानो रेस्टुरेन्ट चलाउने भए। तर रेस्टुरेन्ट विशेषमा राखे चिया। केही महिना रेस्टुरेन्ट चलाएका उनीहरू पछि पूर्ण रूपमा चियामै ढल्किए।

माटोका कप अर्थात ‘मट्का’ मा चिया दिइनु यहाँको अर्को विशेषता मानिन्छ। साधारण चियादेखि आयुर्वेदिक चियासम्म पाइन्छ। विशेष ‘मट्का चिया’ ६० मिलिको मट्कामा दिइन्छ। बाक्लो र नरिवलको स्वादमा रहेको यो थुप्रैको ‘बेस्ट’ चिया समेत भएको राजिव बताउँछन्।

तीन स्वादबाट सुरू भएको यहाँ हाल ‘मट्का’सँगै ‘मसला मिल्क’, ‘मसला ब्ल्याक’, ‘अर्थोडक्स’, ‘फ्रुट’, ‘हिमालयन’ लगायत स्वादमा चिया बन्छ। विकल्पमा कफी पनि छ। यहाँको चियामा अर्गानिक चियापत्ति र मसला प्रयोग हुने राजिवले बताए।

त्यस्तै चिनो स्वरूप मट्कामा सन्देश लेखेर यहीँ छाड्न सकिन्छ। राजिवका अनुसार ग्राहकलाई यो चलनले पनि आकर्षित गरेको छ। सम्झनाको यो चिनो ६ महिनाभित्र फेरि देख्न पाइनेछ भने ६ महिनापछि सबै मट्का विघटन गर्न पठाइन्छ।



चिया घर। तस्बिरः निशा भण्डारी/सेतोपाटी

घर शब्दको आत्मीयता र यहाँ ग्राहक करले होइन, रहरले आऊन् भन्ने सोचसाथ ‘चिया घर’ नाम दिएको राजिव बताउँछन्।

‘घर शब्दले आत्मीयता जगाउँछ। ग्राहक आउँदा आफन्त भेट्न आएको महशुस गरून्, आपसी सम्बन्ध गाँसून्, चिनजान बढाऊन् भन्ने हाम्रो चाहना हो।’

प्लस टु सकेलगत्तै काममा लागेका राजिव र विष्णु प्लाइवुड पसलमा आवद्ध थिए। आफ्नै ‘हार्डवेयर एन्ड प्लाइ पसल’ पनि सुरू गरे। तर २०७२ को भुइँचालोपछि काम बन्द भयो।

प्लाइवुड पसलमा लाग्दालाग्दै राजिव २०७१ सालदेखि गाइड पनि भएका थिए। उनी प्रायः पश्चिम नेपाल पुग्थे। तर भुइँचालोले यो पनि सुस्तायो। मध्यम वर्गीय परिवारमा हुर्केका उनलाई जिम्मेवारी थियो। मौसमी आम्दानी हुने काम, राजिवलाई आर्थिक समस्या पर्न थाल्यो।

पसल बन्द भएपछि विष्णुले पनि विदेशिने सोचे।

हार भने नमान्ने मनसायका राजिवले व्यवसायको योजना बुन्दै थिए। ट्रेकिङ जाँदा घ्यू चिया, नुन चिया, भोटे चिया लगायत चाखेका रहेछन्। काठमाडौंमै ती स्वाद भित्र्याउन साथीसँग मिलेर चिया घर सुरू गरेका हुन्।

‘पढे–लेखेको चिया पसल खोल्न हो?’ भन्थे नि,’ राजिवले सुरूका दिन सम्झँदै भने, ‘तर त्यस्तो कुरा एक कानले सुन्ने अर्को कानले उडाइदिने हो। नकारात्मक वातावरणमा नबस्ने अनि पो केही गर्न सकिन्छ।’

परिवारको समर्थन पाएका कारण नकारात्मक कुराबाट टाढिएरै बसेको उनी बताउँछन्।

पढाइ निरन्तरता दिन नसके पनि हाल आफूलाई चाहिने व्यावसायिक, व्यक्तित्व विकास, व्यवसाय प्रवन्ध, भाषा, लगायत प्रशिक्षण भने लिइरहेको बताउँछन्।

‘काम र पढाइ सँगै लान निकै गाह्रो भयो। त्यसैले पढाइ छाडेँ,’ उनले भने, ‘पढाइ भनेको आफ्नो रूचिको विषय हो। समय मिले पढ्ने सोच छ।’

२२ वर्षीय कृष्ण भने पढाइ पनि सम्हाल्दै छन्।

कुनै काम सानो–ठूलो नसोची चिया घर बनाउन सबै उत्तिकै खटे। सिकर्मी काम जानेका राजिव र विष्णु आफैं अघि सर्थे। चिटिक्कको चिया घर बनाए तर महिनौं बित्दा समेत उँभो लागेको थिएन। पारिवारिक समस्या कारण कृष्णका तीन साथी भने पछि सरे।

‘व्यवसायमा धैर्य निकै चाहिन्छ,’ कृष्ण भन्छन्, ‘निकै मिहिनेतपछि नै चिया घर मान्छेमाझ पुग्यो। ‘भिम्यागको हंगर हन्ट’मा फिचर भएपछि थुप्रै बटुवा, विद्यार्थी, युवायुवती र सर्वसाधारणको नजरमा यो ठाउँ बस्न थाल्यो।’

ग्राहकबीच चर्चा र सकारात्मक प्रतिक्रियासँगै यसको शाखा खोल्ने आँट बढेको कृष्ण बताउँछन्। उनका अनुसार थप शाखा खोल्नु चिया घरको प्राथमिकता हो।

बानेश्वरस्थित चिया घरको एकैपटक सय बढी ग्राहकलाई सेवा पुर्‍याउने क्षमता छ। त्यस्तै पेप्सिकोलामा ६० बढी भने कुमारीपाटीले १३० बढीलाई।

दैनिकरूपमा हरेक शाखामा सयदेखि दुई सय हाराहारी ग्राहक आउने राजिव बताउँछन्।

‘सुरू सानो सोचबाट भयो। व्यावसायिक योजना एकैपटकमा ठूलो पनि त हुँदैन,’ शाखा विस्तारबारे राजिव भन्छन्, ‘फस्टाएको महशुससँगै हौसला बढ्यो। व्यवसाय भनेकै बढाउने पनि त हो।’

उनका अनुसार यसको थप शाखा इटहरी, बुटवल, झापामा हुनेछ।

बजारमा अन्य थुप्रै चिया व्यवसाय चलिरहेका समयमा राजिव भन्छन्, ‘कसैलाई प्रतिस्पर्धी मानेका छैनौं। आफ्नो प्रतिस्पर्धी आफैं हौं।’

केही महिनाअघिबाट ‘दिदी फाउन्डेसन’ को बेकरी चिया घरले ‘सर्भ’ गर्दैछ। ‘दिदी फाउन्डेसन’ ले महिलालाई इलमी बनाउन सहयोग पुर्‍याउँछ। राजिवलाई सामाजिक कार्यमा पनि उत्तिकै चासो छ। प्रत्यक्ष रूपमा नभए पनि हाल ‘दिदी’को सामान राखेर उनी र चिया घर सामाजिक कार्यमा लागेका छन्।

नेपाली मात्र नभई विदेशीका लागि पनि लोकप्रिय चिया घरले आगामी दिनमा ‘टेक अवे’ व्यवस्था पनि गर्ने योजना बनाएको छ।

‘उद्यमी बन्न सजिलो छैन। दिनरात दुःख हुन्छ। गाह्रो पो छ,’ २६ वर्षीय राजिव भन्छन्, ‘नयाँ बाटो हिँड्न डराउनुभएन। हामी पनि पूर्ण परिपक्व छैनौं। तर गल्तीबाटै सिक्दैछौं।’

चिया घर। तस्बिर सौजन्यः राजिव शाही
चिया घर। तस्बिर सौजन्यः राजिव शाही
Copy link
Powered by Social Snap