२०८१ बैशाख १३

मधेसमा सक्रिय ओली : पार्टीमा भित्र्याउँदै प्रभावशाली नेता




जनकपुरधाम । कुनै बेला मधेस प्रदेशमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दिनहुँ विरोध गरिन्थ्यो । ओलीअंकित तस्बिर र पुतला जलाइन्थ्यो । उनी विरुद्ध ठाउँ–ठाउँमा कार्यक्रम हुन्थ्यो । उनलाई कतिपय ठाउँमा प्रवेश गर्न पनि रोक लगाइएको थियो ।

तर, अहिलेको परिवेश र परिस्थिति फरक भइसकेको छ । उनलाई स्वागत र एमाले प्रवेश गर्न मधेसकै नेताहरू आतुर देखिन्छन् । गएको स्थानीय तह निर्वाचनको मत परिणाम र एमाले प्रवेश गरेकाहरूको विवरणले अहिले मधेसमा ओलीप्रति पहिलाको जस्तो धारणा नरहेको पुष्टि गर्छ ।

ओली केही समययता मधेसमा संगठन विस्तारमा निकै सक्रिय देखिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूह एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि मधेसमा ओलीको दौडधुप बढेको हो ।

उनी १० दिनको अन्तरालमा तीनपटक मधेस प्रदेश आए । तीनैपटक यहाँका प्रभावशाली नेताहरूलाई एमालेमा प्रवेश गराए । यो अवधिमा मधेसका १० प्रभावशाली नेता एमालेमा प्रवेश गरेको देखिन्छ ।



Advertisement



पाँच सांसद एमालेमा
सांसदहरूको समयावधि अन्तिम चरणमा रहेका बेला केही दिनको अन्तरालमा पाँच सांसद एमालेमा प्रवेश गरेका छन् । मधेस प्रदेशबाट प्रतिनिधिसभाका दुई र प्रदेशसभाका तीन सांसद अरू पार्टी परित्याग गरी एमालेमा गएका हुन् ।

नेपाल समाजवादी पार्टी (नेसपा)की प्रतिनिधिसभा सदस्य रुही नाज गएको भदौ २७ गते एमालेमा प्रवेश गरिन् । सर्लाहीकी रुही नाज गएको असारमा जनता समाजवादी पार्टी (जसपा) छोडेर डा. बाबुराम भट्टराई नेतृत्वको नेसपातर्फ लागेकी थिइन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया शनिबार (आज) एमालेमा प्रवेश गरे । ०७४ सालको निर्वाचनमा अरगरिया तत्कालीन संघीय समाजवादी फोरमबाट धनुषा निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । पछि जसपाको संसदीय दलका सचेतक बने । जसपा विभाजनका बेला उनले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजे ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोही क्षेत्रबाट लोसपामा अरगरियाको एकल नाम सिफारिस गरिएको थियो ।

उनी ओलीकै पालामा मन्त्री समेत बनेका थिए । आसन्न निर्वाचनका लागि अरू दलसँग तालमेल गर्न लोसपाको वार्ता समिति गठन गरिएको थियो । त्यो वार्ता समितिका संयोजक अरगरिया नै थिए ।

यस्तै, जसपाकी प्रदेश सांसद डा. रीना यादव पनि यही असोज १ गते एमालेमा प्रवेश गरिन् । तत्कालीन राजपाबाट समानुपातिकतर्फ प्रदेश सांसद बनेकी उनले दल विभाजपछि उपेन्द्र यादव नेतृत्वको जसपा रोजेकी थिइन् । उनी जसपा केन्द्रीय सदस्य समेत थिइन् ।



गएको भदौ १ गते जसपाको कोटाबाट उनी प्रदेशसभाको विकास समितिको सभापतिमा चयन भएकी थिइन् । समितिको सभापति बनेको एक महिनापछि उनी एमालेमा गएकी हुन् ।

जसपाकै अर्का सांसद अञ्जुकुमारी यादव भदौ २७ गते एमालेमा प्रवेश गरिन् । उनी तत्कालीन राजपाबाट निर्वाचित सांसद हुन् । जसपाबाट अलग्गिएर लोसपा गठन गरिँदा उनले जसपा नै रोजिन् । तर, पार्टीको गतिविधिभन्दा अलग थिइन् । एमालेले उनलाई योपटक समानुपातिक सांसद बनाउन वचन दिएको चर्चा छ ।

मधेसका अर्का सांसद प्रल्हाद गिरी पनि एमालेमा प्रवेश गरिसकेका छन् । गिरी तत्कालीन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी पर्सा निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’बाट विजयी भएका हुन् । दल विभाजन हुँदा उनले लोसपा रोजेका थिए ।

जसपाका केन्द्रीय सदस्य रामउदित राम, शम्भु साह र नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव पनि निर्वाचनको मुखमै एमालेमा प्रवेश गरेका छन् ।

उमेदवारको टिकट पाउनका लागि नेताहरूले धमाधम पार्टी फेरबदल गरिरहेका छन् । कतिपय नेताहरू समानुपातिकमा नदोहोरिने प्रावधानका कारण पनि एमालेमा प्रवेश गरेका बताइन्छ । 

Copy link
Powered by Social Snap