२०८१ बैशाख ६

नेपालमा चीन, अमेरिका र भारतको तानातान बढ्दो छ : बाबुराम




काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको जिकिर गरे । उनले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताए ।



Advertisement



उनले संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउनका निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको औँल्याए । केही समययता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको उनले उल्लेख गरे ।

“यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ । किनकि, पुराना शक्तिहरूले यो देशलाई झन् बर्बादीतिर लिएर जाँदै छन् । जुन भूराजनीतिक संकट चीन, अमेरिकाबीचको तानातान बढ्दै छ, यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दै छन्, ठूलो संकट आउँदै छ,” उनले भने, “त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ । त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरूलाई बलियो बनाउने गरेर हामी अघि बढौँ । केही समययता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो ।”



उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाए ।

हालै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको उनको भनाइ छ ।

राज्यका सबै अंगहरूमा बेथिति भित्रिएको भन्दै उनले बेथितिले संघीय लोकतान्त्रिक गणतन्त्र नै गम्भीर खतरामा परेको जिकिर गरे ।

अध्यक्ष भट्टराईले सबैले आग्रह, पूर्वाग्रह, स्वार्थलाई छोडेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आवश्यक रहेकामा जोड दिए ।

उनले ‘बजारमा बनेको सामाजिक सञ्जालरूपी विषालु मादकपदार्थ’ले मानिसको चेतना र विचार नै दिग्भ्रमति पार्ने काम गरिरहेको जिकिर गरे । संकटकाल घोषणा गर्ने, टाउकोको मूल्य तोक्ने प्रतिग्रामी शक्तिले अहिले देशलाई अस्थिरतातर्फ लगेको उनको भनाइ छ ।

Copy link
Powered by Social Snap