२०८० चैत्र १६

नागरिकता विधेयक प्रमाणीकरण नभएर जनताको अधिकार हनन भयो : महेश आचार्य




विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेश आचार्यले नागरिकता विधेयक प्रमाणीकरण नभएर जनताको अधिकार हनन भएको बताएका छन् । उनले संसद्को अधिकारमाथि नै धावा बोलिएको बताए । 



Advertisement



बिहीबार विराटनगरमा आफ्नै निवासमा पत्रकाहरूसँग कुराकानी गर्दै आचार्यले राष्ट्रपतिको कदमले सार्वभौम जनताको अधिकारमाथि नै उपहास गरेको बताए । 

“राष्ट्रपतिले नभएको अधिकार प्रयोग गर्नुभएको छ । उहाँलाई सार्वभौम जनताबाट स्थापित संसद्ले पास गरेको कुरालाई पन्छाउने अधिकार छैन,” उनले भने । नागरिकता विधेयकलाई अनुमोदन गरेर अघि बढ्न आचार्यको सुझाव छ । 

विधेयकमा केही फरक ‘कन्टेन्ट’ हुदाँ सदनले पास गरेको र विगतमा नागरिकता अध्यादेश २४ घण्टाभित्र पारित गर्न सक्ने तर अहिले त्यही विषयलाई प्रमाणीकरण गर्न नखोज्नुले संविधानबाहिर गएको देखिएको आचार्यको तर्क छ । विधेयक प्रमाणीकरण नहुँदा देश अप्ठ्यारो अवस्थातर्फ धकेलिएको आचार्यको भनाइ छ । 



उनले भने, “विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरेको अवस्थालाई अहिले बहसको अवस्था सृजना गरिएको छ, जुन अस्वाभाविक छ ।” अंगीकृत नागरिकताको विषय २०६३ सालमा ७ राजनीतिक दलले नै पारित गरेको कानून भएको आचार्यको तर्क छ । 

अर्को प्रसंगमा उनले आउँदो निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको दाबी रहेको बताए । उनले २०७४ सालको निर्वाचनमा तत्कालीन एमाले र माआवादीको समिश्रणसँग प्रतिस्पर्धा गरेर प्रत्यक्षतर्फ पराजित भएपनि समानुपातिकमा कांग्रेसको मत अधिक रहेको उनको तर्क छ । यो क्षेत्र नेता आचार्यको हो । गठबन्धन दलबीच छलफल भइरहेको र अहिले नै त्यो क्षेत्रमा उम्मेदवारको होडबाजीमा नलागेको स्पष्ट गरे । 

Copy link
Powered by Social Snap