२०८१ बैशाख १५

मेयरमा पराजित भएका नेतालाई संघ र प्रदेशमा एकल रूपमा सिफारिस




जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषाका सबै क्षेत्रबाट उमेदवार सिफारिसको काम सकेको छ । बुधबार प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फका उमेदवारहरूको नाम जिल्ला कमिटीमा पठाएको हो ।



Advertisement



धनुषामा कमजोर देखिएको लोसपाले गएको वैशाख ३० को स्थानीय निर्वाचनमा पराजित नेतालाई संघ र प्रदेशमा एकल सिफारिस गरेको छ ।

पार्टीले प्रतिनिधिसभा सदस्यमा उमेदवारको रूपमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट रामबाबु यादवको एकल नाम सिफारिस गरेको छ । यादव गएको स्थानीय निर्वाचनमा गणेशमान चारनाथ नगरपालिकामा पराजित भएका थिए । उनी ०७४ को स्थानीय निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबाट निर्वाचित थिए । तर यसपटक जसपाले उनलाई टिकट नदिँदा अन्तिम समयमा लोसपा प्रवेश गरी मेयर पदमा उमेदवारी दिएका थिए । सो निर्वाचनमा उनले एक हजार ३२३ मत मात्रै प्राप्त गरेका थिए । 



यस्तै, पार्टीले मेयरमा पराजित अर्का उमेदवार रामज्ञान मण्डलको पनि एकल नाम सिफारिस गरेको छ । मण्डललाई सोही निर्वाचन क्षेत्रको ‘ख’ का लागि प्रदेशसभा उमेदवारको रूपमा नाम सिफारिस गरेको हो ।

उनी गएको स्थानीय निर्वाचनमा हँसपुर नगरपालिकामा पराजित भएका थिए । उनी ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित भएका थिए । तर यसपटक दुई हजार ८१५ मत मात्रै पाउन सके ।

Copy link
Powered by Social Snap