२०८१ बैशाख ६

कांग्रेसको कान्छो क्षेत्रीय सभापतिको संसद् सपना 




काठमाडौं । गतवर्ष भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा देशकै कान्छो सभापति निर्वाचित भएका थिए–कविर शर्मा । काठमाडौं जिल्ला क्षेत्र नम्बर–२ मा सभापति निर्वाचित भएका उनै शर्मा अहिले संघीय संसद् प्रतिनिधि सभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन् । 



Advertisement



उमेरले ३३ काट्दै गरेका कविर उमेदवार बन्ने आकांक्षीमध्यकै कान्छा छन् ।  १४औँ महाधिवेशनमा देउवा नजिकका मानिने शर्मा क्षेत्रीय सभापतिमा निर्वाचित भए । 

कम उमेरमै क्षेत्रीय सभापति बनेका कविरको लक्ष्य प्रतिनिधि सभा सदस्य हुनु रहेको छ ।

“देशभर बुढो पुस्ताले नेतृत्व ओगट्यो । युवाहरूलाई अवसर दिइएन भन्दै स्वतन्त्र अभियानदेखि नयाँ पार्टीहरू त्यही नारामा चलिरहेका छन्,” कविर भन्छन्, “म क्षेत्रीय सभापतिको जिम्मवारीमा पनि छु । यसअघि तरुण दल हाँकेकै हुँ । अग्रजको विश्वास र युवाहरूको साथ भयो भने संघीय संसदमै गएर युवा पुस्ताको प्रतिनिधित्व गर्नेछु ।” 

उनी कुनै पनि जिम्मेवारी ठिक समयमा पाउँदा त्यसको उपयोग हुने र व्यक्तित्व पनि बन्दै जाने कुरामा विश्वास गर्छन् । 

कविर भने पार्टीमा टिकट दिने विषयमा भागबन्डा गर्नुभन्दा उपयुक्त उमेदवारमा सहमति हुनुपर्ने पक्षमा छन् । त्यसैले पनि आफूलाई कसैबाट पनि असहयोग नहुने उनको विश्वास छ । 

भूगर्भ विज्ञानमा स्नात्तकोत्तर शर्मा नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा जोडिएका हुन् । 



तर, उनी भने ‘गर्भे’ कांग्रेस भन्दा पनि लोकतन्त्रको अवश्यकता बुझेपछि नेपाल विद्यार्थी संघसँग जोडिएको बताउँछन् ।

२०६३ सालमा त्रिचन्द्र क्याम्पसबाट नेविसंघमा जोडिएका उनी इकाइ समिति हुँदै स्वतन्त्र विद्यार्थी युनियन चुनाव लडे । २०६५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सदस्य भएका उनी राजनीतिकै लागि क्याम्पस कुरेर बसेनन् । 

त्रिचन्द्रबाट जिओलोजीमा स्नातक उत्तीर्ण भएपछि केन्द्रीय क्याम्पस भर्ना भए । उतै नेविसंघ विश्वविद्यालय समितिमा बसेर काम गरे । अहिले जितेको निर्वाचन क्षेत्रमा २०६५ साल देखि नै नेविसंघको संयोजक भएर काम गरे । 

१२ औँ महाधिवेशनपश्चात् युवा तथा खेलकुद समितिमा सहसंयोजक भएर काम गरेका उनी पछि संयोजकको भूमिकामा आए । त्यसपछि उनले क्षेत्रमै तरुण दलको नेतृत्व गरे । त्यसले क्षेत्रीय राजनीतिमा काम गर्न र प्रभाव जमाउन सहज भएको उनको बुझाइ छ ।

Copy link
Powered by Social Snap