२०८१ बैशाख १४

चोलेन्द्रले लगाएका आरोपको खण्डन कामबाट गर्नेछु : न्यायाधीश राउत




काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतले चोलेन्द्रशमशेर जबराले आफूमाथि लगाएका आरोपको खण्डन कामबाट गर्ने बताएका छन् । शुक्रबार काठमाडौं जिल्ला बार एसाेसिएसनकाे वार्षिक साधारणसभा तथा पद हस्तान्तरण कार्यक्रममा न्यायाधीश राउतले आफूलाई जबराले लगाएका आरोपको खण्डन सार्वजनिक मञ्चबाट नगरेर कामहरूबाट गर्ने बताएका हुन् ।



Advertisement



स्वतन्त्र न्यायपालिकाको मर्म आफूले बुझेको भन्दै उनले आफूलाई कसैले पनि खरिद गर्न नसक्ने पनि बताए । 

“ममाथि लागेका आरोपको खण्डन म गर्न म तपाईंहरूको कार्यक्रमको यो सार्वजनिक मञ्चको प्रयोग गर्दिनँ,” न्यायाधीश राउतले भने, “मेरो कामहरू हेर्नुहोला । ममाथि लागेका आरोपको खण्डन म आफ्नो कामबाट गर्नेछु ।”

उनले प्रधानन्यायाधीश भएपछि न्यायपालिकामाथि गम्भीर प्रश्न उठेको भन्दै त्यही कारण गोलाप्रथा लागु गर्नुपरेको पनि बताए । जबराको इजलासले श्रीमतीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैद मिनाहा गर्ने फैसला गरेपछि अदालतका विषयमा प्रश्न उठेको र त्यसपछि अध्ययन सुरु भएको उनको भनाइ छ ।



“रञ्जन कोइरालाको फैसलापछि जनविश्वास रहनुपर्ने न्यायपालिकामा भ्रष्टाचार छ भन्ने आवाज सुनिन थाल्यो । न्यायपालिकाभित्रैबाट न्यायपालिकाको बेथिति अध्ययन गर्न हरिकृष्ण श्रीमानको समिति गठन भयो । त्यो समितिको अध्ययनले न्यायपालिका भ्रष्टाचारले डुङडुङ गन्हाएको छ भन्ने देखाएपछि गोलाप्रथा लागु गर्ने निर्णय भएको हो,” उनले भने ।

उनले न्यायाधीश प्रकाश शर्माको टोलीले वार्ता गर्दा जबराले गोलाप्रथा लागु गर्नेसहितका प्रशासनिक सुधारका काम थाल्ने प्रतिबद्धता जनाएपनि त्यसको कार्यान्वयन गर्न नसकिने भन्दै पन्छिएको पनि उल्लेख गरे । 

Copy link
Powered by Social Snap