२०८१ बैशाख ४

बारका पूर्वमहासचिव पौडेलले भने– चोलेन्द्रले आफ्ना कर्तुत छोप्न अरूको मानमर्दन गर्दै छन्




काठमाडौं । नेपाल बार एसोसिएसनका निवर्तमान महासचिव लिलामणि पौडेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्ना कमजोरी छोप्न अरूको मानमर्दन गरिरहेको बताएका छन् । काठमाडौं जिल्ला बार एसोसिएसनको पद हस्तान्तरण तथा वार्षिक साधारण सभामा पूर्वमहासचिव पौडेलले जबरा न्यायाधीश हुँदादेखिको इतिहास थाहा भएको भन्दै गलत मान्छेले लगाउने आरोपको औचित्य नहुने बताए । 



Advertisement



निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा महासचिव पौडेलसहित बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश हरिकृष्ण कार्की तथा वरिष्ठ अधिवक्ता र पूर्वप्रधानन्यायाधीशहरूमाथि, न्यायाधीश नियुक्तिमा भाग खोजेको, आफैँ नियुक्तिका लागि प्रस्ताव गरेकोसहितका गम्भीर आरोप लगाएका थिए ।

त्यसको प्रतिवाद गर्दै पौडेलले जबरा न्यायाधीश प्रवेश हुँदासमेत कसैमाथि मुद्दा हालेर त्यो फिर्ता लिएबापत नियुक्ति खाएको भन्दै आफू त्यस्तो बाटोमा कहिल्यै नलागेको दाबी गरे । 

“मलाई न्यायाधीश नियुक्ति नपाएर आन्दोलन गरेको आरोप लगाउनुभएको सुनियो । मैले सुशिला कार्की प्रधानन्यायाधीश भएका बेला नियुक्तिका लागि पहल गर्नेबाहेक कुनै नियुक्तिको खोजी गरेको छैन । उहाँ प्रधानन्यायाधीश भएपछि त मैले त्यो काम गरेकै छैन,” पूर्वमहासचिव पौडेलले भने, “न्यायपालिका सञ्चालन र न्याय निरूपणमै असफल भएर महाभियोग लागेका व्यक्तिको अरूलाई आरोप लगाएर आफू बलियो हुन्छु भन्ने सोच दयनीय छ ।”



उनले इतिहास नै ठिक नभएका व्यक्ति प्रधनन्यायाधीश हुँदा यस्तो समस्या आएको पनि बताए । 

“सुरेन्द्रबहादुर सिंह प्रधानन्यायाधीश बन्न अयोग्य छन् भनेर अधिवक्तको हैसियतमा उहाँले रिट हाल्नुभएको थियो । पछि न्यायाधीश बन्ने सर्तमा त्यो रिट फिर्ता लिएर उहाँ न्यायाधीश नियुक्त बन्नुभएको हो,” पौडेलले भने, “उहाँबाट भएका फैसलाको नागरिकस्तरमा कस्तो मूल्यांकन छ भन्ने जगजाहेर छ । अहिले हामीलाई आरोपित गरेर उहाँ चोखो हुनुहुन्न र उहाँले लाएका झाठा आरोप पुष्टि पनि हुन सक्दैनन् ।”

जबरा महाभियोगका लागि उपयुक्त पात्र भएकाले उनको महाभियोग रोके रोक्नेलाई समेत क्षति पुग्ने टिप्पणी गरे ।

Copy link
Powered by Social Snap