२०८१ बैशाख १५

रुपन्देहीमा एकीकृत समाजवादीकाे बटमलाइन ‘क्षेत्र नम्बर-२’




बुटवल । नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ लाई बटमलाइन बनाउने निर्णय गरेको छ ।



Advertisement



एकीकृत समाजवादी रुपन्देहीको बिहिबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधि सभातर्फ २ नम्बर र प्रदेश सभातर्फ तीनवटा निर्वाचन क्षेत्र दाबी गरेर अगाडि बढ्ने निणर्य गरेको हो ।

केन्द्रीय राजनीतिमा भएको सहमतिलाई रुपन्देहीमा पूर्ण रूपमा कार्यान्वयन गर्ने समेत सचिवालय बैठकले निणर्य गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए ।

बैठकले निर्वाचनमा गठबन्धनका उमेदवारलाई जिताउने गरी लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरी निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ ।

एकीकृत समाजवादीले यसअघि रुपन्देहीका प्रतिनिधि सभाका पाँच र प्रदेश सभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरू सिफारिस गरिसकेको छ । रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिसकेको छ ।



बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरुङले आफूहरूले स्वभाविक दाबी गरेको बताउँदै गठबन्धनबाट आफू नै उमेदवार हुने बताए । उनले आफूहरूले मात्रै बुटवलबासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिन कार्यकर्तालाई आग्रह गरे ।

गुरुङले संविधान, लोकतन्त्र र गणतन्त्रमाथि अझै खतरा देखिएकाले गठबन्धनबाट आफूहरू चुनावी मैदानमा आउन लागेको बताउँदै कांग्रेस इमानदार नभए एक्लै पनि चुनाव लड्ने तागत एकीकृत समाजवादीले राख्ने जिकिर गरे ।

बैठकमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनाव परिवर्तनकारी र संविधान मास्नेका विरुद्धमा भएको बताए ।

त्यस्तै बैठकमा पार्टीका केन्द्रीय सदस्य उमा काफ्ले, अर्का केन्द्रीय सदस्य भगवती घिमिरे, प्रदेश कमिटीका पदाधिकारी र सदस्य तथा जिल्लाका पदाधिकारीहरूको सहभागिता रहेको जिल्ला सचिव सरिता श्रीसले जानकारी दिइन् । 

बैठकले निर्वाचन क्षेत्रअनुसार चुनावी रणनीति र जनताको बीचमा पुग्ने कार्यक्रम लिएर जाने निणर्य भएको जिल्ला उपाध्यक्ष श्रीराम यादवले बताए ।

Copy link
Powered by Social Snap