२०८० चैत्र १६

नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्छ : पुन 




काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् । 

राष्ट्रपतिसँग बुधबार शीतलनिवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालसहित आफूहरुले नागरिकता विधेयकबारे पार्टीको धारणा स्पष्ट गरेको पुनले बताए । 



Advertisement



उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरुषलाई बराबारी गर्न संविधान संशोधन गर्नुपर्ने औंल्याए । 

संविधानमै नभएको विषय नागरिकता विधेयकमा आउनुपथ्र्यो भन्नु जायज नभएको तर्क उनको छ । 

नेपाली पुरुषले विवाह गरेर ल्याएका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भए पनि महिलाले विदेशी पुरुष विवाह गरेर ल्याउँदा के गर्ने भन्नेमा संविधान मौन रहेको उनले उल्लेख गरे । 

अहिले बाहिर सार्वजनिक बहस भएको र राष्ट्रपतिले उठाएको सवाल सही भए पनि त्यो संबोधन गर्न संविधान संशोधन गर्नैपर्ने पुनले स्पष्ट गरे ।

“नेपाली पुरुषले विदेशी महिला विवाह गरेमा अंगीकृत नागरिकता पाउने व्यवस्था संविधानमा छ,” त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग, कीर्तिपुरका विद्यार्थीलाई भिजिटिङ फ्रोफेसरका रुपमा बिहीबार कक्षा लिएका पुनले भने, “नेपाली महिलाले विदेशी पुरुष विवाह गरेर ल्यायो भने के गर्ने भन्ने व्यवस्था छैन । अहिले बाहिर सार्वजनिक बहस भएको छ । संविधानमा नभएको कुरा कानूनमा ल्याउन सकिँदैनथ्यो ।”



आफूहरुले त्यस विषयमा संविधान लेखनका क्रममा कुरा उठाए पनि अन्य दलले नसुनेको स्मरण पुनले गरे । 

“राष्ट्रपतिले भन्नुभएको कमसेकम महिला र पुरुषको बराबर हुनुपर्छ भन्नेमा हामी सहमत छौं । हिजो हामीले संविधानसभामा पनि उठाएको विषय हो,” पुनले भने, “तर, सहमति बनेन ।  त्यो गर्न संविधान नै संशोधन गर्नुपर्छ  ।” 
उनले वैवाहिक अंगीकृतको विषयमा अनावश्यक विवाद खडा गरिएको बताए । 

००९ सालदेखि हालसम्म वैवाहिक अंगीकृत नागरिकताबारे एउटै व्यवस्था रहेको उनले स्पष्ट गरे । सरकारले नागरिकता विधेयक संघीय संसदमा प्रस्तुत गर्ने क्रममै राष्ट्रिय सहमति कायम गरेर अर्को विधेयक ल्याउने प्रतिबद्धता गरेकाले त्यसमा शंका गरिरहनुपर्ने अवस्था नरहेको तर्क पुनले गरे । 

Copy link
Powered by Social Snap