२०८१ बैशाख १५

इलामको चुनावमा पहिलो पटक दुईतिर फर्किएका खनाल र नेम्वाङ




स्कुल, कलेज हुँदै लामो राजनीतिक यात्रासमेत सँगै तय गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ पहिलो पटक इलाममा फरक दलबाट यसपटकको चुनावी परीक्षामा होमिँदैछन्। 

इलाम-१ बाट चुनाव लड्दै आएका खनाल यसपटक नेकपा (एकीकृत समाजवादी)का तर्फबाट चुनावी प्रतिष्पर्धामा जाने तयारी गरिरहँदा नेम्वाङ पनि आफ्नो पुरानो क्षेत्र इलाम-२ मा नेकपा (एमाले)बाट चुनाव लड्दैछन्। 



Advertisement




यसअघिका अधिकांश चुनावमा सजिलो गणितको सहारामा चुनाव लड्दै आएका यी दुबै हेभिवेट नेता आगामी चुनावमा त्यति सजिलो हिसाबको सुविधामा छैनन्। २०५६ बाहेकका सबै चुनावमा विजेता बनेका खनालले यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनका दलको मत सुरक्षित पार्नुपर्ने चुनौती छ भने अहिलेसम्म लडेकामध्ये कुनै चुनाव नहारेका नेम्वाङलाई गठबन्धनसँग रहेको बलियो गणितको चुनौती छ। 

सत्तारूढ गठबन्धन दल र एमालेका नेताहरू जिल्लाको अवस्था आफू अनुकूल रहेको दाबी गरिरहेका छन्। कांग्रेस जिल्ला सभापति डम्बर खड्का इलामका दुबै क्षेत्रमा गठबन्धन धेरै बलियो रहेको भन्दै ढुक्क देखिन्छन्।

‘इलामका सबै क्षेत्रमा गठबन्धन बलियो छ,’ खड्काले भने, ‘यसपटक हामी इलामका संघ र प्रदेशका शतप्रतिशत क्षेत्रमा जीत निकाल्नेछौं।’

उनको यस्तो ढुक्कपनको आधार गएको स्थानीय चुनावको परिणाम हो। गठबन्धनका सबै दलका उम्मेदवारहरूको मत र एमाले उम्मेदवारको मत जोड्दा दुबै क्षेत्रमा गठबन्धन बलियो देखिन्छ। 

एमाले भने स्थानीय चुनावको गणितलाई मात्रै आधार मान्ने पक्षमा छैन।

‘यो नेता र कार्यकर्ता तहमा मात्रै भएको गठबन्धन हो,’ एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीले भने, ‘जनताको तहमा यो गठबन्धनको कुनै अर्थ छैन। एमाले पुरानो सफलता दोहोर्‍याउन सक्षम छ।’




खनाल अन्य दलमा निर्भर 
अहिलेसम्म खनालले जित्दै आएको इलाम १ मा सन्दकपुर, माइजोगमाई र रोङ गाउँपालिका तथा सूर्योदय नगर, माई नगरका १, २, ३, ४, ५ ९ र १० नम्बर वडा र  इलाम नगरपालिकाको १० नम्बर वडा पर्दछन्। स्थानीय चुनावमा वडाध्यक्षहरूले पाएको मत अनुसार यो क्षेत्रमा एमालेसँग २६ हजार २३३ मत छ। 

कांग्रेसले यो क्षेत्रमा पाएको मत २५ हजार ७७२ हो भने एकीकृत समाजवादीले ९ हजार ४८१ जसपाले १ हजार ८२९ र माओवादीले  १ हजार २३५ मत पाएका छन्। राप्रपासँग १ हजार १६९ मत छ। राप्रपा र एमालेबीच तालमेल हुने अवस्थामा पनि गठबन्धनकै मत बढी हुने देखिन्छ। गठबन्धन दलहरूको कुल मत ३८ हजार ३१७ हुँदा एमाले र राप्रपाको मत मिसाउँदा २७ हजार ४०२ मात्रै हुन्छ। इलामबाट राजनीतिक यात्रा थालेर पार्टी र सरकार दुबैको प्रमुख भइसकेका खनालका लागि यसपटक हुने मुख्य प्रतिकूलता भनेको अन्य दलहरूमाथि निर्भर हुनुपर्ने अवस्था हो। यसपटक उनीसँग मतदाता अभ्यस्त भइसकेको चुनाव चिन्ह सूर्य हुने छैन। स्थानीय चुनावपछि कार्यपालिका चुनावमा खनालको दल एकीकृत समाजवादीले एमालेसँग सहकार्य गरेका कारण कांग्रेस पंक्ति असन्तुष्ट रहेको चर्चा पनि उत्तिकै छ। 

यसलाई कांग्रेस सभापति खड्का भने अस्वीकार गर्छन्।

‘उहाँसँग कांग्रेस असन्तुष्ट हुनुपर्ने कारण नै छैन’, उनले भने, ‘दिल्लीको अस्पतालमा हुँदा पनि ओली सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाउन योगदान गर्ने उहाँ नै होइन? उहाँसँग काँग्रेस किन असन्तुष्ट हुनु? कांग्रेस उहाँलाई जिताउन प्रतिवद्ध हुनेछ।’ 

२०७४ मा वाम गठबन्धन हुँदा ३६ हजार ८०५ मत ल्याएर इलाम १ बाट जितेका खनालको त्यो ह्याट्रिक जीत थियो। २०४८ र २०५१ मा चुनाव जितेका खनाल २०५६ मा काँग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए। २०६४, २०७० र २०७४ को चुनावमा  लगातार जितेका खनाल यसपटक त्यही सफलता दोहोर्‍याउने दाउमा छन्। 

उनको चुनावी प्रतिष्पर्धा यहाँ एमालेका उम्मेदवारसँग हुने निश्चित छ। उनीसँग भिड्न उनकै पूर्वकार्यकर्ता एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र काजीमान कागते दौडमा छन्। टिकटको दाबी गरिरहेका बस्नेत २०७४ मा इलामको मेयर थिए भने यसपटक प्रदेश सभा त्यागेर सूर्योदयको मेयर लडेका कागते एकीकृत समाजवादीका रनबहादुर राईसँग पराजित भएका थिए। 

प्रतिकूल गणित नेम्वाङको चुनौती 

कानुनी पृष्ठभूमिका नेम्वाङ २०४८ यता निरन्तर संसदमा छन्। २०४८ मा पहिलो पटक राष्ट्रियसभा सदस्य बनेका उनी २०५२ मा पनि उपल्लो सदनकै सदस्य थिए। दुई पटक राष्ट्रिय सभामा रहेका उनी २०५६ देखि प्रत्यक्ष चुनाव लड्दै आएका छन्।

२०५६ यता इलाम-२ बाट चुनाव लड्दै आएका संविधान सभा अध्यक्ष नेम्वाङले त्यसयताका कुनै चुनाव हारेका छैनन्। पहिलो संविधान सभा निर्वाचनमा देशैभर एमाले पराजित हुँदा पनि इलामका दुबै क्षेत्रबाट एमालेका खनाल र नेम्वाङले जितेका थिए।

यसरी अहिलेसम्म सहजै जित्दै आएका एमाले उपाध्यक्ष नेम्वाङसामु गठबन्धनको बलियो गणित मुख्य चुनौती छ। अन्य सबैजसो ठूला दल एकातिर र विभाजित भएपछिको पार्टी एकातिर हुने अवस्था पनि उनका लागि छिचोल्नै पर्ने चुनौतीका रूपमा छ। एमाले पंक्ति गठबन्धन जनताको तहमा नहुने भन्दै नेम्वाङ सजिलै विजयी हुने दाबीमा छ। 

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरका १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १२ नम्बर वडा, देउमाई नगरपालिका, फाकफोकथुम र माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्दछन्। गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार गठबन्धन दलहरू एमालेभन्दा अघि छन्। यद्यपि सबै दल मिल्दा पनि चार हजार हाराहारी मतले मात्रै गठबन्धन अघि रहेकाले त्यसको पूर्ति सजिलै गर्न सकिने आंकलनमा एमाले छ। यसबाहेक जनजाति बहुल क्षेत्र पर्ने भएका कारण पनि नेम्वाङलाई सजिलो हुने विश्वास एमालेको छ। 

‘इलाम २ मा चुनाव जित्न हामीलाई कुनै समस्या छैन’, एमाले उपसचिव सुवेदीले भने, ‘मतदातालाई गठबन्धनसँग कुनै चासो छैन।’

कांग्रेस सभापति खड्का भने अहिलेको गणित कायमै राखेर अन्तर अझै बढाउन गठबन्धन सफल बन्ने दाबी गर्छन्। 

स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतअनुसार यो क्षेत्रमा कांग्रेसले सबैभन्दा बढी मत पाएको थियो। ३२ हजार ९७८ मतसहित कांग्रेसको हुँदा एमालसँग पनि उसैको हाराहारी ३२ हजार ५२७ मत छ। माओवादीले २ हजार ७१७, जसपाले ५५४ र एकीकृत समाजवादीले २७७ र  राप्रपाले  १३० मत पाएका थिए। यो क्षेत्रमा गठबन्धनको कूल मत ३६ हजार ५२६ छ।  

इलाम-२ मा नेम्वाङसँग प्रतिष्पर्धा गर्न गठबन्धनबाट कांग्रेसले उम्मेदवारी पाउने निश्चित छ। कांग्रेसबाट नेताहरू केशव थापा, जिल्ला सभापति खड्का र भेषराज आचार्य पनि टिकटको दौडमा छन्। वाम गठबन्धन भत्केको र एमाले पनि फुटेको फाइदा आफूलाई हुने र गठबन्धन पनि सोही अनुसार बनेका कारण कांग्रेस यो क्षेत्रमा बढी नै आशावादी देखिन्छ। २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा नेम्वाङले  ३६ हजार ५१७ मत पाउँदा कांग्रेसका केशव थापाले  २६ हजार ८६५ मत पाएका थिए। 

प्रतिनिधि सभाको आउँदो चुनाव खनाल र नेम्वाङका लागि जिल्लामा आफ्नो प्रभाव नाप्ने अवसर पनि बन्ने छ। यसअघिसम्म उनीहरू एमालेको बलियो संगठनको बलमा चुनाव लड्दै आएका थिए। यसपटक नेम्वाङलाई त्यो संगठनको बल छ तर खनालसँग आफैंले बनाएको संगठन सग्लो रूपमा आफ्नो साथमा छैन। 

कक्षा ५ देखि आइएस्सीसम्मका सहपाठी र लामो समयसम्मका ‘रूममेट’ समेत रहेका खनाल र नेम्वाङ यो प्रतिष्पर्धामा कति खरो उत्रेलान्? यसको उत्तर मंसिर ४ को चुनावले मात्रै दिन सक्नेछ।

Copy link
Powered by Social Snap