२०८० चैत्र १६

डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको रहँदैन : महेश बस्नेत




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौंका नक्सापास नभएका संरचनाहरूमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



Advertisement



उनले ‘डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्न सक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको’ बताए । केही मानिसले साथ दिए भन्दैमा कानुन मिचेर जनतालाई दुःख दिने काम नगर्न उनले चेतावनी दिए ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा ध्वंसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको जिकिर गरे । निर्माणबाट नै सुन्दर बनाउन सकिन्छ भन्ने कुरा हेर्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा जान उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई आग्रह गरे ।

“नक्सापास नभएका घरहरू, संरचनाहरूलाई डोजर लगाएर ‘ठोक’ भनेर काठमाडौंभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडे भने उपत्यका बस्न लायकको रहँदैन । बस्न नालायक ठाउँ हुन्छ । भागेर जानुपर्छ । निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ,” उनले भने, “मिडियाका चार हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि, कानुन मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिईकन जनतालाई दुःख दिने काम नगरौँ । मैले मेरो जिल्ला, मेरो क्षेत्र नमुना बनाएको छु । ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस् ।”



नेता बस्नेतले दुईपटकभन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी संविधानमा व्यवस्था गर्न माग पनि गरे ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडकमैत्री बनाउन खोजिएको आरोप लगाए ।

एमाले अहिले पनि कमजोर नरहेको भन्दै उनले निर्वाचनमा प्रत्यक्षतर्फ नै ७० भन्दा बढी सिट जित्ने जिकिर गरे ।

Copy link
Powered by Social Snap