२०८१ बैशाख १३

ओलीको आरोप : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्न सत्तारुढ नेता डराए




काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरू डराएको आरोप लगाए । 



Advertisement



अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताए । केन्द्रीय पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उक्त जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम एमालेले गरेको स्पष्ट पारे । 

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको तर ६० वर्षअघि हाम्रो हातबाट खोसेर भारतले लगेको सो जमिन हामो हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको ओलीले स्मरण गराए । सत्तारुढ दलका नेताहरू भने यसबारे चुइँक्क बोल्न नसकेको उनको भनाइ थियो । 

“प्रचण्डजी, लिम्पियाधुरा, लिपुलेक, कालापानी कसेको हो भन्नुस् ? अस्ती जाँदा पनि चुइँक्क बोल्नु भएन इन्डियामा, चुइँक्क बोल्नुभएन । बोल्नुस्,” ओलीले प्रश्न गरे, “माधव नेपाल भन्ने अर्को हुनुहुन्छ फेरि । उहाँ बोल्नुस्, कसको हो लिम्पियाधुरा, लिपुलेक, कालापानी ?”



अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरू आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको दोहो¥याए । तर, एमाले र यसका नेताहरू भने देश बनाउने अभियानमा रहेको उनको भनाइ छ ।  

“यस पार्टीका नेताहरू छोरीबुहारीलाई माथि उठाउन काम गरिरहेका छैनन् । यहाँका नेताहरू श्रीमती, साला, भाइ, भतिजा, आफन्त, परिवारका सदस्य, नातागोताहरूलाई माथि उठाउन लागि रहेका छैनन्,” ओलीले भने, “देश बनाउन लागेका छन् नेकपा एमालेका नेताहरू । र, सिंगै पार्टीले देश बनाउने काममा केन्द्रित भएर आग्रह गरिरहेका छौँ ।” 

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाए । प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरूले मिलेर राजनीतिलाईं दुश्मनीको विषय बनाएको उनको भनाइ थियो । 

ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने पनि बताए । 

Copy link
Powered by Social Snap