२०८१ बैशाख ८

चुनावका लागिमात्र माओवादीसँग मिलेको हो : भट्टराई




काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी प्रयोजनका लागि मात्रै नेकपा (माओवादी केन्द्र)सँग एकल चुनाव चिह्नमा जाने सहमति भएको बताएका छन् ।



Advertisement



मंगलबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका अर्का अध्यक्ष महेन्द्र यादवसँगको छलफलपछि उनले चुनावी तालमेल मात्र भएको बताएका हुन् । 

“तत्काल चुनावी प्रयोजनका निम्ति मात्रै हो । हाम्रो लक्ष्य चाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेन्डा बाँकी छन्, त्यसलाई पूरा गर्नका निम्ति हामी एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ आधारमा एकताबद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएकाले त्यो दिशातिर पनि उन्मुख हुने हिसाबले लिएका छौँ,” उनले भने । 

त्यस्तै उनले आगामी दिनमा भने अग्रगामी शक्तिहरूबीच ध्रुवीकरण गरेर जाने पनि बताए । 

“तत्काल दुई पार्टीबीच चुनावी तालमेल गरेर अघि बढ्छौँ । हाम्रो लक्ष्य चाहिँ आगामी दिनमा बृहत अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने संकल्प छ,” भट्टराईले भने । 

उनले आफ्नो पार्टी पनि गठबन्धनमा नै रहेको पनि बताए ।

Copy link
Powered by Social Snap