२०८१ बैशाख ५

के छन् क्वाँटी खानुका फाइदा ?




काठमाडौं । जनैपूर्णिमाको दिन टुसा उम्रिएको गेडागुडीबाट बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी यस पर्वको खास खानेकुरा हो ।

धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ र टुसा उम्रपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि फाइदाजनक हुने पोषणविद्हरू बताउँछन् ।

चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर कम्तीमा पनि नौ प्रकारको गेडागुडी मिसाएपछि क्वाँटी बन्छ । क्वाँटी खानुका फाइदा के के छन् ? कति मात्रामा खाने ? लगायतका विषयमा पोषणविद् आरेम कार्की यस्तो भन्छन् :



Advertisement



आरेम कार्की

क्वाँटी किन खाने ?

जनैपूर्णिमामा टुसा उमारिएको क्वाँटी खाने जुन चलन छ, त्यो एकदमै राम्रो चलन हो । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्त्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्त्व खानेकुराको माध्यमबाट प्राप्त हुने हो । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यकता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो । त्यसैले  शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खानुपर्छ ।

कति मात्रामा खाने ?

गेडागुडीको तरकारी धेरै खान सकिंदैन किनकि यो थोरै खाँदा पनि पेट टन्न हुन्छ । एक प्लेट वा एक कचौरा भन्दा बढी गेडागुडी खान सकिंदैन । तर मःम खायो भने २ देखि ३ प्लेट पनि खान सकिन्छ । जंकफुड धेरै खान सकिन्छ भने प्राकृतिक खाना धेरै खान सकिंदैन । त्यसैले प्राकृतिक खाना खानु स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हुन्छ ।

चिया गिलासको एक गिलास भिजाएको गेडागुडी खानु उपयुक्त हुन्छ । त्यसरी चिया गिलासमा नाप्न सम्भव छैन भने ठिक्कको कचौराको एक कचौरा खानु राम्रो हो ।

कसरी खाने क्वाँटी ?

गेडागुडीलाई भिजाएर टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व सजिलै प्राप्त गर्न सकिन्छ । भिजाएर टुसा उम्रिएको गेडागुडी नपकाई काँचै पनि खान सकिन्छ । साँधेर पनि खान सकिन्छ त्यो मीठो र पोषिलो पनि हुन्छ । क्वाँटीको झोल बनाएर पनि खान सकिन्छ यसले ऊर्जा दिन्छ । साथै क्वाँटीको तरकारी चिउरा खाजाको रूपमा पनि खान सकिन्छ । चाउचाउ बिस्कुट जस्ता खाजाको सट्टामा क्वाँटीको तरकारी खाँदा पाचन प्रक्रिया पनि राम्रो हुन्छ ।

के छन् क्वाँटीका फाइदा ?

गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व झन् धेरै बढ्छ । गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा हुन्छ ।

अहिले क्वाँटी खानु स्वास्थ्यको लागि झन् धेरै महत्त्वपूर्ण छ । यसमा भएको फाइबरले गर्दा पनि यो खानैपर्छ । हामीले दैनिक खाने खानामा आइरन, क्याल्सियम र प्रोटिनको केही मात्रा त हुन्छ, तर फाइबर हुँदैन । त्यसैले हामीले खाने खानामा फाइबरको मात्रा एकदमै कम हुन्छ जुन गेडागुडीबाट प्राप्त गर्न सकिन्छ ।

बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ । जसको सेवनले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्छ । यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्न पनि यो लाभदायक हुन्छ । पाचन प्रक्रियालाई एकदमै राम्रो बनाउँछ । त्यसैले क्वाँटी खानु स्वास्थ्यको दृष्टिकोणले एकदमै राम्रो हुन्छ ।

वर्षमा एक दिन होइन, नियमितजसो खानुपर्छ

हामी नेपाली जनैपूर्णिमाको एक दिन क्वाँटी खाने र माघे संक्रान्तिको दिन चाकु तिलको लड्डु खाने गर्छौं । वर्षमा एक दिन मात्र कुनै खानेकुरा खाएर त्यसबाट पाइने फाइदा लिन सकिंदैन ।

वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन सकिंदैन । टुसा उमारिएको गेडागुडी होस् वा तिलको लड्डु समय-समयमा खाइरहनुपर्छ अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ ।

टुसा उम्रिएको गेडागुडीको सेवन दैनिक रूपमा गर्नु एकदमै राम्रो हो । त्यसैले कुनै पनि स्वास्थ्यवद्र्धक खानेकुरा वर्षमा एक दिन मात्र खाने बानी हटाएर समय-समयमा खाइरहनुपर्छ ।

Cr: सुमित्रा लुइटेल (OK)

Copy link
Powered by Social Snap