२०८० चैत्र १५

पूर्वाधारविना अघि बढ्दै स्केटबोर्डिङ




३१ असार, काठमाडौं । तपाईं हामीले कहिलेकाहीँ खुला सडकमा वा पार्कमा स्केट बोर्डमा रमाइरहेका युवाहरु देख्ने गरेका छौं । त्यही आधारमा अधिकांशले यसलाई मनोरञ्जनको साधनका रुपमा पनि बुझ्ने गरेका छन् ।

कमैलाई जानकारी छ, यो खेलको एउटा विधा हो । अघिल्लो वर्ष जापानको टोकियोमा आयोजित ग्रिष्मकालीन ओलम्पिकदेखि यो खेल ओलम्पिककै आधिकरिक खेलका रुपमा दर्ज भइसकेको छ ।



Advertisement



२०७२ सालमा राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दर्ता भएसँगै यो खेलले आधिकारिक मान्यता पाएको हो । टोकियो ओलम्पिकदेखि स्टेकबोर्डिङ नेपालको कान्छो ओलम्पिक खेल विधाका रुपमा उदाएको छ । स्थापनाकालदेखि नै अच्युत खनालले यो संस्थाको नेतृत्व गरिरहेका छन् ।

स्थापनाको सात वर्षअन्तरालमा नेपालमा स्केटबोर्डिङ खेलाडी संख्या उकालो लागिरहेको छ । तर, अहिलेसम्म व्यवसायिक खेलाडीको संख्या अत्यन्त न्यून छ भने नेपालमा अहिलेसम्म एउटा पनि अत्याधुनिक स्केट पार्क छैन । यसलाई खेलाडीहरु निराशाजनक मान्छन् ।

गत असार ६ र ७ गते पोखराको अन्नपूर्ण स्केट पार्कमा आयोजित पाँचौ संस्करणको राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा महिला तर्फ पेम्बा श्रेष्ठ र पुरुषतर्फ समिर विल्सन च्याम्पियन बने ।

उनीहरुको लागि उपाधि यात्रा सहज थिएन । पेम्बाले च्याम्पियन बन्न क्रममा बास्केटबल कोर्टमा तयारी गरेकी थिइन् । मिहिनेतले सफलता दिलायो । त्यसका लागि विभिन्न खुड्किलो भने पार्न गर्नुपर्याे ।

काठमाडौंकी बासिन्दा श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको बास्केटबल कोर्टमा अभ्यास गर्दै राष्ट्रिय च्याम्पियनसिपका लागि तयारी गरेकी थिइन् । उनले तयारी गरेको ठाउँ र उनल प्रतियोगिता खेलेको ठाउँको संरचना फरक थियो । चार वर्ष देखि स्केट बोर्ड खेल्दै आएकी उनी आफ्नो मिहिनेतले च्याम्पियन बन्न सफल भइन् ।

‘पूरा समय मैले सिमेन्टेड बास्केटबल कोर्टमा अभ्यास गरेँ तर पोखराको स्केटबोर्ड पार्क त्यो भन्दा फरक थियो । च्याम्पियनसिपका बेला म नर्भस भएको थिए र गाह्रो पनि भएको थियो’ श्रेष्ठले अनलाइनखबरसँग भनिन् ।

राजधानीमा एउटा पनि स्तरीय स्केट पार्क नहुनु दुःखद कुरा हो । जसका कारण च्याम्पियन खेलाडीले समेत बास्केटबल कोर्टमा अभ्यास गर्नुपर्ने बाध्यता छ । श्रेष्ठ जस्तै काठमाडौंमा अरु धेरै स्केटबोर्डका खेलाडीहरु बास्केटबल कोर्टमै अभ्यास गरिरहेका भेटिन्छन् ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा स्केटबोर्ड पार्क बनाउनका लागि पहल गरिरहेको छ । विभिन्न चुनौतीका बाबजुद पनि राजधानी र मोफसलमा समेत स्केटबोर्ड खेल विस्तारै फस्टाउँदै छ ।

जसको उदाहरण पोखरामा भएको राष्ट्रिय च्याम्पियनससिप हो । जहाँ विभिन्न २५ जिल्लाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । २०७३ मा पहिलो संस्करण आयोजना हुँदा ५० जनाबाट सुरु भएको थियो । पाँचौ संस्करणसम्म आइपुग्दा सहभागी संख्या बढेर १५० पुगिसकेको छ ।

अहिले नेपालमा झण्डै एक हजारको हाराहारीमा स्केटरहरु छन् । यसको प्रतिस्पर्धा बढ्दै छ । तर, स्तरीय प्रशिक्षण र अभ्यासबिना कसरी खेलाडीले मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भन्ने ठूलो चुनौती छ ।

पूर्व खेलाडी तथा हालका स्केट प्रशिक्षक उज्वल डंगोलले नेपालमा स्केटबोर्डको अवस्था परिवर्तन भइरहेको बताए । पूर्वाधार नहुँदा यसको विस्तारमा बाधा भएको उनको अनुभव छ ।

डंगोल आफैले पनि काठमाडौंमा स्केट पार्क सञ्चालन गरेका थिए । जहाँ धेरै स्केटरहरुले अभ्यास गर्थे । तर कोभिड महामारीका कारण यसले निरन्तरता पाउन सकेन । ‘नेपालमा स्केटरको राम्रो सम्भावना देखिएको छ । यदी उनीहरुलाई राम्रो सुविधा प्रदान गर्ने हो भने उनीहरुले अन्तर्राष्ट्रिय स्तरमै ठूलो सफलता हासिल गर्न सक्छन्,’ डंगोलले अनलाइनखबरसँग भने ।

चुनौतीसँग लड्दै

डंगोलले भनेजस्तै नेपाली स्केटरले यसअघि नै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलिसकेका छन् । नेपालले एसियन प्लेट च्याम्पियनसिपमा पनि २०१६ देखि नै सहभागिता जनाउँदै आएको छ ।

सन् २०१९ मा १९ वर्षीया पेम्बाले पनि चीनमा स्केटबोर्ड पार्कमा अभ्यास गरेकी थिइन् । ‘त्यस्तो पार्कमा स्केटबोर्डिङ गर्न पाउनु सपना जस्तै हुन्छ,’ उनले सुरुमा पार्कको संरचना देखेर नै नर्भस भएको बताइन् ।

अहिले झापा, धरान, पोखरा र रुपन्देही गरी नेपालमा चार स्केट पार्क छन् । संघले राजधानीमा पनि एउटा पार्क छिट्टै बनाउने जनाएको छ । राष्ट्रिय खेलकुद परिषदबाट थोरै बजेट पाउने भएकोले बजेट जुटाउन समय लागेको संघले भनाई छ ।

अहिले विश्वमै स्केटबोर्डको चर्चा बढ्दै गएको छ । टोकियो ओलम्पिक २०२० बाट यसले ओलम्पिकमा पनि डेब्यू गरिसकेको छ । आसन्न एसियाली खेलकुदमा पनि यो खेल समावेश छ । यसले नेपालका धेरै स्केटरहरुका लागि आशा जगाएको छ । पेम्बाले पनि कुनै दिन ओलम्पिकमा जाने सपना देखेकी छन् ।

संघका अध्यक्ष खनालले नेपालमा स्केटबोर्डिङ खेलको महत्व र प्रचार कम भएको स्वीकार गरे । ‘विश्वमा स्केटबोर्डले ठूलो चर्चा पाइरहेको छ । नेपालमा भने धेरैले यसको महत्व बुझेका छैनन् । अझै पनि धेरैले स्केटबोर्डिङलाई ‘ट्यापे’हरुको खेल भनेर बुझ्छन् । यो सोचलाई परिवर्तन गर्नु जरुरी छ,’ खनालले भने ।

अहिले संघ अन्तर्राष्ट्रिय सहयोगको भरमा चलिरहेको छ । अब सरकार र निजी क्षेत्रबाट राम्रो बजेट प्राप्त गरेमा स्केट पार्क र प्रतियोगिता अझै बढाउने योजना रहेको खनालले बताए । ‘स्केट पार्क बढाउनका लागि हामी अहिले ‘एक नगरपालिका, एक स्केटपार्क’ भन्ने अभियानसहित सहकार्य गर्ने तयारीमा छौं,’ अध्यक्ष खनालले थपे ।

Copy link
Powered by Social Snap