२०८० चैत्र १५

संसदीय छानबिन समितिमा पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राखियो




काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ । 



Advertisement



प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेको प्रस्तावमा सहमति जुटेको हो । समितिमा अब नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनेछन् ।

“प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानबिन विशेष समितिमा माननीय पुष्पा भुसाल गौतमको स्थानमा माननीय मानबहादुर विश्वकर्माको नाम रहने गरी हेरफेर गर्न सभाको सहमतिका लागि प्रस्ताव गर्दछु । प्रस्तावित हेरफेरलाई सहमति जनाइदिनहुन अनुरोध गर्दछु,” उनले प्रस्ताव गरेका थिए ।

प्रस्तावमा सभाले सहमति जनाएको थियो ।

कांग्रेस सांसद भुसालले बिहीबार (आजै) प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै त्यसको छानबिन गर्न गत असार २२ गते संसदीय समिति गठन गरिएको थियो । समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका ४ जनासहित ११ सदस्य रहेका छन् ।

Copy link
Powered by Social Snap