२०८१ बैशाख १२

सरकारको प्रभावकारिता बढाउन आवश्यक : प्रदीप पौडेल




काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको कामको प्रभावकारिताबारे छलफल हुने बताएका छन् ।

सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनताको जनजीविकाका विषयमा सरकारले प्रभावकारिता बढाउन आवश्यक रहेको बताए ।



Advertisement



“सरकारका कमी–कमजोरीहरूका विषयमा छलफल हुन्छ । जनजीविकाको सवालमा सरकार पूर्ण असफल भयो त म भन्दिनँ, प्रभावकारिता बढाउन आवश्यक छ,” उनले भने, “मल उपलब्ध गराउने, पाठ्यपुस्तक उपलब्ध गराउने सवालमा, महँगी, शान्ति सुव्यवस्था कायम गर्ने सवालमा, हाम्रो कूटनीतिक विषयका सवालमा सरकारले लोकप्रियता बढाउनुपर्छ । अलोकप्रिय हुने निर्णय गर्नु हुँदैन ।”

यस्तै, पार्टीको आन्तरिक राजनीतिका सबै समस्या समधान गर्ने गरी बैठकबाट निर्णय हुने उनले बताए । नेतृत्वलाई थप बलियो बनाउने र नेतृत्वले सबैलाई समेट्छ भनेर विश्वास दिलाउने गरी बैठकले निर्णय गर्ने उनको भनाइ छ ।

बैठकमा सत्ता गठबन्धनको समीक्षा हुने र निर्वाचनमा गठबन्धन गरेर जाने कि एक्लै जाने भन्ने विषयमा निर्णय हुने उनले जानकारी दिए ।

स्थानीय तह निर्वाचनको समीक्षा र आउँदो निर्वाचनको तयारीका विषयमा समेत छलफल हुने उनले बताए ।

Copy link
Powered by Social Snap