२०८१ बैशाख ७

छानविन समितिको निष्कर्ष- विमला वलीले मर्यादा भुलेर अरूको घरमा झगडा गर्न जानू गलत




नेपाल कम्युनिष्ट पार्टीबाट दाङको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले दाङको तुलसीपुरमा रहेको वाइसियल नेता एकराज बस्नेतको घरमा गरेको हर्कत मर्यादा बिपरित कार्य भएको निष्कर्ष छानविन समितिले निकालेको छ।

जेठ ३१ गते बिहान तत्कालिन लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले बस्नेतको घरमा गएर उनकी श्रीमती मीना र साढे तीन वर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन्। 



Advertisement



घटना बाहिरिएपछि छानविन गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्मा संयोजक रहेको तीन सदस्य छानविन समिति बनेको थियो। छानविन समितिमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य थिए।

उक्त समितिले तयार पारेको प्रतिवेदन संयोजक शर्माले शनिबार मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएका हुन्।

प्रतिवेदन बुझाएपछि समितिका संयोजक मन्त्री शर्माले राज्य मन्त्री वली अनाधिकृतरूपमा अरुको घरमा जानू कमजोरी देखिएको जानकारी दिए।

‘राज्य मन्त्री वलीज्यू पदीय मर्यादा बिर्सेर व्यक्तिगत लेनदेनको पैसा उठाउन अरूको घरमा पुगेर झैझगडामा उत्रने गल्ती गरेको छानविन प्रतिवेदनको निष्कर्ष हो,’ शर्माले भने, ‘एकराज र राज्यमन्त्री वलीबीच लेनदेन भएको देखिएपनि त्यसरी उहाँ पुग्नु सही हैन भन्ने हो।’

जेठ ३१ गते बिहान पौने ९ बजेतिर तुलसीपुर–५ आलुमण्डी नजिकैको बस्नेतको घरमा तत्कालिन राज्यमन्त्री वली झण्डावाला गाडी र अंगरक्षकसहित पुगेकी थिइन्।

मुख्यमन्त्री केसीले पनि प्रतिबेदन बुझेपछि राज्यमन्त्री वलीबाटै प्रारम्भिक रूपमा कमजोरी भएको देखिएको जानकारी दिए। 

प्रतिवेदनको अध्ययन पछि मात्रै सरकार र पार्टीले आवस्यक कदम चाल्ने मुख्यमन्त्री केसीले बताए।

‘साँच्चिनै कमजोरी भएको भए संरक्षण हुने छैन,’ मुख्यमन्त्रीले भने, ‘वलीलाई षड्यन्त्रपूर्वक फसाउन पूर्व तयारी वा योजना बुनियो कि ? भन्ने आशंका जिवितै छन्।’

त्यसक्रममा मुख्यमन्त्री केसीले तोकिएको समयसीमा भित्रै प्रतिवेदन तयार पारी बुझाएको भन्दै मन्त्री शर्मा नेतृत्वको छानविन समितिलाई धन्यबाद पनि दिएका थिए। 

छानविनको क्रममा वली र एकराज बस्नेतबीच साढे ६ लाख जतिको लेनदेन भएको खुलेको थियो।

Copy link
Powered by Social Snap