२०८१ बैशाख २६

‘जसपा उपेन्द्र यादव र बाबुराम भट्टराईको मात्र हो ?’




काठमाडौं । विवादकैबीच सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले केन्द्रीय समिति बैठक असार २७ र २८ गतेका लागि आह्वान गरेको छ । वीरगञ्जमा बस्ने बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईबीच पार्टी सञ्चालका विषयमा विवाद छ । विशेषरी भट्टराई र यादवबीच अधिकार बाँडफाँटलाई लिएर टसल बढेको छ ।



Advertisement



यादवले पार्टी सञ्चालनदेखि राजदूत नियुक्ति र टिकट वितरणमासमेत एक्लौटी गरेको भट्टराई पक्षको आरोप छ । राष्ट्रिय सभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा अध्यक्ष यादवले एक्लौटी टिकट बाँडेको गरेको भट्टराईको गुनासो छ । 

यादव पक्षले भने सानो शक्ति ल्याएर पार्टी एकता गरेका भट्टराईले धेरै भाग खोजेको बताउँदै आएको छ ।

चार दिनअघि यादव पक्षले आफूपक्षीय कार्यकारिणी समिति बैठक बोलाएर मन्त्री हेरफेर गर्ने र पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने निर्णय नै गरेको थियो । त्यसअघि यादवले पार्टीलाई विधानसम्मत सञ्चालन गर्न नसकेको भन्दै भट्टराईले हस्ताक्षर संकलन अभियान नै चलाएका थिए ।

यादव पक्षले भने पार्टी विभाजनका लागि भट्टराईले निर्वाचन अयोाग र कांग्रेस र माओवादी केन्द्रको साथ खोजेको आरोप लगाएको छ । यता भट्टराईले पनि पार्टीमा रिक्त रहेको एक कार्यकारिणी अध्यक्ष आफ्नो पक्षबाट बनाउन दबाब दिइरहेका छन् ।

यादव र भट्टराईले तीन दिनअघि वार्ता पनि भएको थियो । वार्तामा आफूहरूबीच अलग हुने सहमति भएको जानकारी यादवले दिएका थिए ।

जसपामा पार्टी विवाद समाधानका लागि भट्टराई, यादव र राई रहेको तीन सदस्यीय हेडक्वाटर संयन्त्र छ । तर, अहिलेसम्म यस संयन्त्रले काम गर्न सकेको छैन । भट्टराई पक्षीय नेता गंगानारायण श्रेष्ठ संयन्त्रको बैठक नबसी भएका कुराहरू आधिकारिक मान्न नसकिने बताउँछन् । शीर्ष नेताहरू विवाद समाधानमा केन्द्रित हुनुपर्ने उनको तर्क छ । 

“विवाद समाधान गर्न भनेरै हामीले तीन सदस्यीय हेडक्वाटर बनाएको हो । अहिले आएको विषय नितान्त व्यक्तिगत हुन् । हेडक्वाटरमा छलफल नै भएको छैन,” उनी भन्छन्, “विभाजन हुने भनिएको पनि होइन । तीन नेताहरू बसेर छलफल गर्नुहुन्छ ।”

कार्यकारिणी सदस्यसमेत रहेका श्रेष्ठले केन्द्रीय सदस्य बैठक बोलाइएकोबारे इमेलमार्फत जानकारी पाएपनि एजेन्डाबारे थाहा नभएको बताए । 

“तीनजनाबीच छफल नभई बोलाइएको, कार्यकारिणी बैठक नबसी बैठकको एजेन्डा के हो कसरी थाहा हुन्छ ? यो त उपेन्द्रजीको एकल निर्णय हो,” उनी भन्छन्, “एजेन्डा थाहा भएन । पार्टीभित्र विवाद छ । यी एजेन्डा बन्नुपर्ने थियो ।”

नेता श्रेष्ठ पार्टी विभाजनको बहस भने चलाइएको हल्लाबाहेक केही नभएको दाबी गर्छन् ।

“पार्टी दुई–तीनजनाको मात्र होइन । हो छलफलमा विभिन्न कोणबाट कुरा हुँदा विभाजन भयो भने सौहार्दपूर्ण ढंगले अघि बढौँ डा. भट्टराईले भन्नुभयो होला । तर, पार्टी यादव र भट्टराईको मात्र होइन नि !,” उलने भने, “डा. भट्टराईले पनि उहाँको पछि लागेका हामीसँग छलफल गरेर भन्नुभएको हैन । त्यसकारण पार्टी विभाजनको विषय गलत हल्ला मात्र हो भन्ने मलाई लाग्छ ।”

समयमै छलफल र बैठक बसेको भए पार्टीमा समस्या कम हुने भन्दै उनी अब निर्णायक वार्ता गर्नुको विकल्प नभएको पनि बताउँछन् ।

Copy link
Powered by Social Snap