२०७९ श्रावण २४
Advertisement

Advertisement

चार जना अपांगता भएका छोरा सम्हाल्दै बित्छ भट्टराई दम्पतीको दिन

छोराछोरी छ जना छन्, पाँच छोरा र एक छोरी। सबैभन्दा ठूला छोरा वीरेन्द्र २२ वर्षका भए। छ सन्तानमध्ये चार जनामा गम्भीर प्रकृतिको अपांगता छ। बोल्छन् तर कुरा बुझिँदैन। कम्मरमुनिको भाग चल्दैन। श्रवण क्षमता सामान्य छ।

साहिँला छोरा महेन्द्र १८ वर्षका भए। पछिल्लो सन्तान छोरी छन्। नाम हो ममता, सात वर्षकी भइन्। महेन्द्र र ममता मात्रै सामान्य अवस्थाका अर्थात् सांग छन्। 

आम्दानीको अतरिक्त स्रोत केही पनि छैन। गरिखाने भनेको खेतीपाती नै हो। खेतीबाहेक दिनभरिको मजदुरी हो, मजदुरी गर्ने पनि घरमा एक जनाले मात्रै।

यो संक्षिप्त पारिवारिक विवरण हो जाजरकोटको छेडागाड नगरपालिका-३ का विशाखर भट्टराई परिवारको।

विशाखरले अपांगता भएका आफ्ना छोराहरूलाई उपचारका लागि पालैपालो नेपालगञ्जको भेरी अञ्चल अस्पताल पुर्‍याए। केही पार नलागेपछि भारतको रुपैडिहास्थित अपांगता विशेष अस्पताल पनि पुर्‍याए।


Advertisement


कतै पनि समस्या समाधान भएन। केही पनि पत्तो लागेन। डाक्टहरूले नै ‘हामी सक्दैनौँ’ भने।

तै हुन्छ कि भनेर विशाखरले धामीझाँक्री कहाँ पुर्‍याएर हेराइकोराई गराए। एक जनाले घरमा ‘देउता’ लागेकाले गर्दा घर फापेन भने।

विशाखरलाई पनि तै हो कि, घर छाड्दा पो राम्रो हुन्छ कि भन्ने लाग्यो। उनीहरू अहिले एक जना आफन्तको खाली घर मागेर बसेका छन्।

यस्तो विषम परिस्थितिमा पनि, खुसी त के भन्नु, विशाखर दम्पतीले केही सन्तोष गर्ने ठाउँ पाएका छन्। दुई भाइ छोरा घरैमा पढ्छन्।

बाह्र वर्ष उमेरका काइँला छोरा नरेन्द्र र उनीमुनिका भाइ आठ वर्षका ललितलाई पढाउन घरमै शिक्षक आउँछन्। उनीहरूको आफ्नै घरमा एउटा कक्षा कोठा बनाइएको छ।

नरेन्द्र प्रष्ट पढ्न सकिने गरी राम्रा अक्षर लेख्छन्। ललित पनि लेखाइमा अभ्यस्त छन्। दुवै भाइ शिक्षकले सोधेको प्रश्नको जवाफ लेखेरै दिन्छन्। अहिले दुवै जना दुई कक्षामा पढ्दै छन्।

उनीहरूलाई पढाउने शिक्षक गंगाकुमारी थापाका अनुसार दुवै जना स्कुलमा पढ्नेहरू भन्दा उत्कृष्ट छन्।

उनले भनिन्, ‘उहाँहरू दुवै भाइ पढाइमा राम्रो हुनुहुन्छ। पढाएका सबै कुरा बुझ्नु हुन्छ। हामीले हालै लिएको परीक्षामा स्कुलमा पढ्नेहरूले भन्दा राम्रो नम्बर ल्याउनुभएको छ।’

विशाखरले नरेन्द्रलाई स्कुल पनि पठाएका थिए। पाँच वर्षको उमेरमै स्कुल भर्ना गरे। बोकेर पुर्‍याउनु र ल्याउनु पर्थ्यो। खेती गरेर पालिनु पर्ने मान्छेले सधैँ यसो गर्न सम्भव भएन।

उनका अनुसार शिक्षकहरूले पनि नरेन्द्रलाई स्कुल नपठाउन सुझाब दिए।

‘स्कुलमा एक वर्षसम्म केही पनि जानेन, अरू केटाकेटीले गिज्याउन थाले,’ विशाखरले भने, ‘शिक्षकहरूले केही जोखिम देखेरै भन्नुभयो होला। उहाँहरूले नै नल्याउनू भनेपछि घरमै राखें। अर्को छोरा (ललित) लाई स्कुल नै पठाइनँ।’

जाजरकोटमा केही संघसंस्थाले अपांग भएर स्कुल जान नसक्ने बालबालिकाका लागि ‘स्कुल एट होम’ अर्थात् ‘घरमै विद्यालय’ कार्यक्रम चलाएका छन्। नरेन्द्र र ललितले यसैअन्तर्गत पढ्न पाएका हुन्।

विशाखरले जेठो वीरेन्द्र र माइलो डिल्लीलाई भने पढाउन पाएनन्। उनले भने, ‘उनीहरूलाई पढाउने बेला यस्तो व्यवस्था (स्कुल एट होम) थिएन।

पहिल्यै यस्तो भइदिएको भए त उनीहरू पनि केही पढ्ने थिए होला।’ यी दुई भाइ सुतिरहन्छन्। कोल्टे फर्किन पनि सहारा चाहिन्छ।

उनीहरूको अपांगता जन्मजात होइन। विशाखरका अनुसार अठार महिना उमेर हुँदासम्म सामान्य थिए। हिँड्थे, बोल्थे। ससानो समस्या देखिँदै अपांगता बढ्दै गयो। उमेर बढ्दै जाँदा अपांगता झन् गम्भीर हुँदै गयो।

विशाखरका अनुसार चारै जना छोरामा एउटै खालको लक्षण र अपांगता वृद्धिको चरण देखियो। सबै छोरा १८ महिनाको उमेरपछि सबैभन्दा पहिले एउटा हात र एउटा खुट्टा कमजोर भयो।

यो अवस्था बढ्दै गएर १२ वर्षको हुँदासम्ममा कम्मरमुनिको भाग नचल्ने भयो। उभिन नसक्ने भए।

पछिका यी दुई छोरा नरेन्द्र र ललितमा पनि यो उही प्रक्रिया चलेको छ। नरेन्द्र उभिन नसक्ने भएका छन्। बाह्र वर्षको हुँदासम्ममा ललित पनि त्यस्तै हुन्छन् भन्ने विशाखर दम्पतीलाई लागेको छ।

विशाखर र उनकी श्रीमतीको धेरै समय छोराहरूको हेरचाहमा बित्ने गरेको छ। मजदुरीको सिजनमा विशाखर काममा जान्छन्। आफ्नो खेतीले नपुग्ने भएपछि मजदुरी गर्नु उनको बाध्यता हो।

‘राम्रा जन्मेलान् भन्ने आशमै धेरै छोराछोरी जन्माइयो। जेजस्ता भए पनि सन्तानको माया लाग्दो रहेछ। यतिकै तड्पाउनु पनि भएन,’ विशाखर भन्छन्, ‘चार छोरालाई बोकेरै सबै कुरा पुर्याउनु पर्छ। हामी आमाबाबुको ड्युटी नै छोराहरूको हेरचाह गर्ने भएको छ।’

एक छोरा र एक छोरीको अवस्था अहिलेसम्म ठिक छ। उनीहरू स्कुल जान्छन्। घरमै पढ्न पाएका दुई छोराको पढाइ राम्रो छ भन्ने सुन्न पाउँदा विशाखर र उनी श्रीमतीले थोरै भए पनि सन्तोषको सास फेर्न पाएका छन्।

नरेन्द्र र ललित नजिकैको जनता माध्यमिक विद्यालयमा भर्ना भएका छन् तर ‘स्कुल एट होम’ कार्यक्रमअन्तर्गत घरमै पढ्छन्। यस कार्यक्रमले अपांगता भएर स्कुल जान नसक्ने बालबालिकालाई स्कुल भर्ना गराएर घरमै शिक्षक पठाइदिन्छ।

‘घरमा पढाएका बेला त म आफैँ पनि हेर्न पाउँछु। स्कुल गएर पढ्ने मेरै छोराछोरीले भन्दा राम्रा अक्षर लेख्छन्,’ विशाखरले भने, ‘कहिलेकाहीँ स्कुल जान्छु। सरहरूले तपाईंका छोराको क्षमता राम्रो छ भन्नुहुन्छ। मन खुसी हुन्छ।’

बालबालिकाको क्षेत्रमा काम गर्ने विश्व संस्था ‘सेभ द चिल्ड्रेन’ को परियोजनामार्फत जाजरकोटको साझेदार संस्था ‘पाँचतारा युवा संरक्षण मञ्च’ ले छेडागाड नगरपालिकामा अपांगता भएका केही बालबालिकालाई पढ्न ‘स्कुल एट होम’ व्यवस्था गरेको हो।
यसमा नगरपालिकाले पनि अपनत्व लिएको छ। घरमा बालबालिकालाई पढाउने शिक्षकले पाउने तलबमा नगरपालिकाले एक हजार रुपैयाँ थपिदिएको छ।

गंगाले नरेन्द्र र ललितलाई पढाउन थालेका पाँच महिनामात्र भयो। त्यसअघि एक वर्ष अर्की शिक्षकले पढाइन्।

‘सुरुमा त बोली नबुझ्दा गाह्रो महसुस भएको थियो। यति चाँडो सिक्लान् जस्तो पनि लागेको थिएन,’ गंगाले भनिन्, ‘बिस्तारै म पनि बानी परेँ, उनीहरूले पनि छिटो सिके।’

उनका अनुसार यी दुई भाइ पढेर सुनाउन सक्दैनन्। शिक्षकले सोधेका प्रश्नको जवाफ लेखेर देखाउँछन्। चित्र बनाउन लगाउँदा खुब खुसी हुन्छन्।

नरेन्द्र र ललित भर्ना भएको विद्यालयले पाठ्यपुस्तक दिएको छ। उनीहरूले परीक्षा लेखेको उत्तरपुस्तिका विद्यालयले नै परीक्षण गर्छ।
जाजरकोटका अन्य केही स्थानीय तहमा पनि ‘स्कुल एट होम’ चलेको छ।

Copy link
Powered by Social Snap