२०८१ बैशाख २३

मधेस सरकारले युवा महोत्सव गर्ने




जनकपुरधाम । मधेस प्रदेश सरकारले युवा महोत्सव आयोजना गर्ने भएको छ । महिला, बालकालिका, युवा तथा खेलकुद मन्त्रालयले दुई दिने युवा महोत्सव गर्न लागेको हो ।



Advertisement



बुधबार मन्त्री विरेन्द्र प्रसाद सिंहले पत्रकार सम्मेलन गरी असार १५ र १६ गते पहिलो मधेस युवा महोत्सव गर्न लागेको जानकारी दिए । उनकाअनुसार जनकपुर उद्योग वाणिज्य संघमा ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो ।

महोत्सवमा सहभागी हुन वडादेखि सबै पालिकामा पत्राचार गरिने छ । युवाहरूमा सिप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मन्त्री सिंहले बताए ।

महोत्सवमा प्रदेशको सम्भावना, अवसर र चुनौती बारे सर्वपक्षीय विर्मश हुने छन् । मधेसका युवाहरूले गरेको उदाहरणीय कामलाई प्रस्तुत गर्न मञ्च प्रदान गर्ने बताइएको छ । पहिलो दिन राजनीति, उद्यम, समाजिक कार्य र पत्रकारिता क्षेत्रमा कार्यरत युवाहरूको कथा सुन्ने र संवाद गर्ने कार्य तालिका राखिएको छ ।

यस्तै, दोस्रो दिन यौन तथा प्रजन्न स्वास्थ्य र अधिकारको विषयमा अन्तरक्रिया र साँझा प्रतिबद्धताका लागि आह्वान गरिने छ । असार १७ गते महोत्सवको समीक्षा हुने छन् । समीक्षा बैठकले संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्ने छ ।

Copy link
Powered by Social Snap