२०८१ बैशाख ८

‘निरन्तरको लकडाउनले होटलमा थपिएको नयाँ लगानी जोखिममा’

साभार: सेतोपाटी

कोरोना महामारी नियन्त्रणका लागि भन्दै संसारभर जारी गरिएको लकडाउन खुकुलो हुँदै गए पनि नेपालमा भने छ महिनासम्म जारी हुँदा अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको व्यवसायीले बताएका छन्।

लकडाउनका कारण पुगेको क्षतिलाई न्यूनीकरण गर्न कुनै पनि राहत नदिएको र अर्कोतिर बन्दमात्र गर्दै जाँदा व्यवसाय र व्यवसायीमात्र नभएर लाखौं नेपाली बेरोजगार बन्ने जोखिम बढेको उनीहरूको भनाइ छ।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको पर्यटन र त्यसमा पनि होटल व्यवसायीले सरकारले घोषणा गरेको राहत अहिलेसम्म कसैले पनि नपाएको र पाए पनि त्यसबाट उद्धार सम्भव नहुने मेयरियट होटलका सञ्चालक शशिकान्त अग्रवालले बताए। 

नेपाल राष्ट्र बैंकले होटल तथा पर्यटनसँगसम्बन्धी अन्य उद्योगलाई एक वर्षसम्म ब्याज तिर्न नपर्ने व्यवस्था गरिदिएको थियो। त्यस्तै पाँच प्रतिशत ब्याजदरमा पुर्नकर्जा दिने पनि व्यवस्था गरेको थियो।

यसबाट कसैलाई पनि खास फाइदा नहुने अग्रवालको भनाइ छ। स्वपुँजीमा सञ्चालन भएका होटल ऋण लिएर व्यवसाय गर्ने अवस्थामा नभएको र ठूला होटललाई यसले केही पनि नछुने उनको भनाइ छ।

‘सरकारले हामीलाई पाँच प्रतिशत ब्याजदरमा दिने ऋण हो। यो खासै केही होइन। जस्तो मेरो होटलमा ४ सय करोडको ऋण छ। मैले अधिकतम २० करोडसम्म मात्र पाउने हो। यो कुल ऋणको ५ प्रतिशत पनि हुँदैन। त्यसले मलाई खासै केही पनि सहयोग गर्दैन। बरू यसलाई आधासम्म पुर्‍याइदिएको भए केही हुन्थ्यो। अरू त केही पनि राहत दिएको छैन’ उनले भने।

त्यस्तै ब्याज पछि तिर्ने व्यवस्थाले झनै घाटा भएको उनको भनाइ छ। १ वर्षपछि ब्याज तिर्न पाउने सुविधा दिइएको छ। यसबाट अहिलेको ब्याजलाई साँवामा रूपान्तरण गरिन्छ। यसले ब्याजमा पनि ब्याज लाग्ने व्यवस्थाले महामारीमा झनै समस्या थपिदिएको उनको बुझाइ छ।

‘कोरोनाबाट उठ्दै गर्दा एकातिर व्यापार नहुने अर्कोतिर ब्याजमा ब्याज लागेर किस्ता झन् बढेर बोझ बढ्ने अवस्था आउन सक्छ। कि २ वर्षसम्म ब्याज तिर्नु पर्दैन। त्यसपछि अहिलेको ब्याजलाई किस्तामा मिलाएर तिरौंला भनेको भए पो राहत हुन्थ्यो’ उनले भने।


Advertisement


ऋण तथा किस्ताको समय ठूला होटलमा पनि नयाँलाई मात्र धेरै देखिने भएको छ। पूराना होटलका कर्मचारीको तलबमात्र मुख्य समस्या भएको तर नयाँ खुलेका होटललाई गम्भीर समस्यामा धकल्ने उनको बुझाइ छ।

पछिल्लो समय काठमाडौंमै म्यारियट, अकामा, अलफ्ट सञ्चालनमा आएका छन्। लकडाउनकै बीचमा रमडा होटल तयार भएको छ। त्यस्तै काठमाडौंबाहिर भैरहवामा सिद्धार्थको पाँचतारे होटल तयार भएको छ भने पवल प्यालेस पनि गएको वर्षमात्र सञ्चालनमा आएको थियो। नेपालगञ्जमा सेन्ट्रल प्लाजा होटल पनि नयाँ व्यवसायीले किनेका थिए।

‘सरकारले ताला लगाएर बस्यो खोल्ने साँचो हरायो’

सरकारले लकडाउनमात्र गरेर खोल्ने कुनै पनि योजना नबनाउँदा आफूहरूलाई निराश बनाएको अग्रवालले बताए। लगानीको सुरक्षा राज्यको पनि जिम्मेवारी भए पनि सरकारबाट खासै चिन्ता नदेखिएको उनले बताए।

‘अहिलेसम्म जेनतेन जसरी पनि चलियो। आउने दिन झनै कठिन हुन्छन्। किनभने अहिलेसम्म त हामीले बैंकहरूलाई ब्याज पनि तिरिरहेका छैनौं। तिर्ने सम्भावना पनि छैन’ उनले भने,’ बजार तथा यात्रा केही भए पनि खुल्ला भन्ने आशमा थियौं। त्यस्तो सम्भावना पनि तत्काल देखिएको छैन। सरकारले पनि लकडाउनमात्र गरेको छl’

सरकारले लकडाउन गरेर खोल्ने योजना नल्याएको उनको भनाइ छ।

‘यो मितिदेखि पार्क खोल्ने, उडान खोल्ने,विदेशी आउन दिने, विद्यालय खोल्ने यस्ता योजना पो आउनुपर्छ। सरकारले लकडाउन योजनामात्र बनायो। तर अनलक प्लान बनाउन सकेन। यदि यसैगरी लकमात्र गर्ने हो भने त अर्थतन्त्र डामाडोल नै हुन्छ। त्यस्तोमा जनता रोगभन्दा भोकले मर्ने अवस्था आउँछ,’उनले भने।

यसो हुँदा विदेशबाट फर्केलाई नेपालमै रोजगारी दिने परको कुरा नेपालमै लाखौं मान्छे बेरोजागार हुने जोखिम बढेर जाने छ।

अर्थतन्त्र चलायामान बनाउन सरकारले राहत र उद्धारमात्र गरेर हुँदैन। यसका लागि बजार नै सक्रिय हुनुपर्छ। उत्पादनदेखि उपभोगसम्मको श्रृखला सक्रिय हुनुपर्छ।

आफूहरुले सरकारको क्षमता तथा अर्थतन्त्र बुझेकाले धेरै राहतभन्दा पनि विवेकपूर्ण निर्णयकोमात्र अपेक्षा गरेको अग्रवालको भनाइ छ।

रोगभन्दा भोक समस्याका रूपमा आउन नदिन सरकारले बजार तथा यात्रा खोल्नुको विकल्प नभएको उनको भनाइ छ।

‘छ महिनादेखि सरकारले लकडाउनमात्र गरेको छ। त्यो अविधिमा गर्नुपर्ने तयारी केही पनि गरेन। लकडाउन गर्ने त्यसपछि खोल्नका लागि ठाउँ ठाउँमा आइसोलेसन, क्वारेन्टिन, अस्पताल बेड थप्ने,औषधी तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्ने। यो कुनै पनि गरेको देखिएको छैन,’ उनले भने।

Copy link
Powered by Social Snap