२०८१ बैशाख १३

एनआरटी ‘प्रि-सिजन’ टुरका लागि मलेसिया जाने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको न्युरोड टिम (एनआरटी)ले प्रि-सिजन खेलका लागि मलेसिया भ्रमण गर्ने भएको छ ।


Advertisement


एनआरटीले मलेसियाको पेनाङमा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्न लागेको हो । उक्त प्रतियोगिता पेनाङका सहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो ।

२८ जुनदेखि २ जुलाईसम्म हुने प्रतियोगितामा एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिगको क्लब मुक्तिजोधा सङसद केसीले प्रतिस्पर्धा गर्नेछन् । 

२० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । 

‘‘अर्को सिजन हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारी स्वरूप एनआरटी क्लबले ‘प्री सिजन’ खेलका लागि मलेसिया भ्रमण गर्न लागेको कुरा जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौँ,’’ एनआरटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘‘उक्त प्रतियोगिताको तयारीका लागि केही दिनमै प्रशिक्षण सुरु गर्नेछौँ । साथै क्लबले खेलाडी अनुबन्ध प्रक्रियासमेत सुरु गरिसकेको छ ।’’

एनआरटीले मलेसिया जानुअघि नेपालमै केही अभ्यास खेल पनि खेल्ने जनाएको छ । 

पाँच पटक लिग विजेता एनआरटी गत फागुनमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा रहन सफल भएको थियो । 

Copy link
Powered by Social Snap