२०८१ बैशाख १३

साढे २ करोड लगानीमा भिल्ला बनाउँदै ‘रिभरसाइड रिसोर्ट’

राजधानी काठमाडौं उपत्यकाको व्यस्त दिनचर्या र कोलाहलबाट थोरै समय भए पनि अलग भएर आनन्द लिन चाहनु हुन्छ भने तपाईंको चाहना पूरा गरिदिन्छ ‘त्रिशूली रिभरसाइड रिसोर्ट’ ले।

त्रिशूली नदी किनारमा रहेको उक्त रिसोर्टले नदीपारि भिल्ला अर्थात बस्ती रिसोर्ट बनाउँदैछ। रिसोर्टका सञ्चालक उद्धव कँडेलका अनुसार दुई वर्षअघि सुरू भएको भिल्लाको निर्माण आगामी छ महिनाभित्र पूरा हुनेछ। 

भिल्लामा सपरिवार बसेर तपाईंले आफूमा ताजगी भर्न सक्नुहुन्छ। करिब पाँच रोपनी क्षेत्रफल ओगट्ने भिल्लामा २५ वटा घर हुनेछन्। ती घरमा एक पटकमा २५ परिवार अटाउँछन्। 

भिल्लामा रेस्टुराँ, बार, बगैंचा, स्विमिङ पुल इत्यादि रहने छन्। स्पा, साउना, थेरापी, बडी मसाजको सुविधा पनि हुनेछ। शान्त पारिवारिक वातावरण हुने भिल्ला झट्ट हेर्दा परम्परागत गाउँजस्तो देखिनेछ।

उद्धवका अनुसार छानो परम्परागत घरको जस्तै हुनेछ। घरको भित्ता बाहिरपट्टि रातोमाटो र कमेरोले पोतिएका हुने छन्। उनी भन्छन्, ‘झट्ट हेर्दा घान्द्रुकतिर पुगेको झल्को आउँछ।’ 


Advertisement


घरभित्र पस्दा अलग आनन्द अनुभव हुने उद्धवको भनाइ छ।

‘हामीले एसी, फ्रिज, टिभी, माइक्रो–ओभन इत्यादि चाहिने जति सबै सामग्री राखिदिएका हुन्छौं। आगन्तुकलाई आफ्नै घरभित्र छिरेको अनुभव हुन्छ,’ उनले भने।

भिल्लामा आकर्षक पारिवारिक प्याकेज हुनेछ। प्याकेजमा ब्रेकफास्ट, लन्च, डिनरसहित एक रात बस्ने र अन्य सुविधा हुनेछ। भिल्लाको आवासमा बस्ने परिवारले आफ्ना व्यक्तिगत गतिविधि गर्न पाउने छन्। 

खानेकुरा पनि स्थानीय उत्पादनको हुने उनले बताए। सबै तरकारी भिल्ला नजिकैको कृषि फार्ममा फल्नेछ र अर्गानिक हुनेछ। 

भिल्लानजिकै करिब दुई सय रोपनी जमिनमा कृषि फार्म छ। भिल्लामा त्यहीँको तरकारी प्रयोग गर्ने योजना छ। हाल भिल्लासम्म गाडी पुग्दैन। त्रिशूली रिभरसाइड रिसोर्टमा गाडी पार्क गरेर झोलुंगे पुल तर्दै हिँडेर जाँदा १० मिनेटमा पुगिन्छ।

जिपलाइनबाट पनि त्यहाँ जान सकिन्छ। स्काई साइक्लिङबाट जाने सुविधा पनि छ। उद्धवका अनुसार मलेखुनेर बन्दै गरेको पुल तयार भएपछि चाहिँ गाडी भिल्लामै पुग्नेछ। 

भिल्लाको लगानी साढे दुई करोड रूपैयाँ छ।

स्वदेशी र विदेशी दुवै पर्यटकका लागि लक्षित गरिएका यी भिल्ला नजिकैबाट हिमशृंखला पनि देख्न सकिन्छ। हिमाल हेर्न करिब ३० मिनेट हिँड्नु पर्छ। यस क्रममा स्थानीय प्राकृतिक सौन्दर्यको मजा लिन सकिन्छ। 

उद्धवले र्‍याफ्टिङबाट व्यवसाय सुरू गरेका हुन्। अहिले रिसोर्ट, जिपलाइन र स्काइ साइक्लिङ पनि चलाउँछन्। आगन्तुकहरूले यी सबैको मजा लिन सक्छन्।

‘मैले एउटा डुंगाबाट व्यवसाय गरेको थिएँ। अहिले १० वटा डुंगा छन्,’ उनी भन्छन्, ‘कोभिडको समयमा चाहिँ व्यवसाय घाटामा गयो।’ 

उद्धवले आठ वर्षअघि त्रिशूली रिभरसाइड रिसोर्ट सुरू गरेका थिए। रिसोर्ट काठमाडौंबाट नौबिसे हुँदै ७० किलोमिटर दुरीमा छ। त्यहाँ स्वदेशी र विदेशी पर्यटकहरू पुग्छन्। कोभिडयता विदेशी पर्यटकको संख्या नगन्य छ।

सहरी कोलाहलबाट थोरै समय अलग रहन चाहने मानिसहरू काठमाडौंबाट पुग्ने गरेकाले रिसोर्टमा चहलपहल राम्रो रहेको उनको भनाइ छ। खास गरी शुक्रबार र शनिबार बढी जमघट हुन्छ।

भिल्ला बनाउन सुरू गरेको दुई वर्ष भयो। उद्धवका अनुसार हालसम्म पूर्वाधार निर्माणको ६० प्रतिशत काम पूरा भएको छ। भिल्ला ‘वान हाउस वान फेमिली’ अवधारणामा बनिरहेको हो। 

उद्धव भन्छन्, ‘हाइवे वरपर पारिवारिक वातावरणका भिल्ला छैनन्। परिवारलाई सहज होस् भनेर हामीले बनाउन सुरू गरेका हौं।’ 

कोभिड महामारीको दोस्रो लहर फैलिँदै गरेका बेला निर्माण सुरू गरेको उनले बताए।

उनले भने, ‘कोरोना बेला कामको चाप थिएन, फुर्सदको सदुपयोग गरौं भनेर त्यही समयमा निर्माण सुरू गरेका हौं।’ 

रिसोर्ट र र्‍याफ्टिङ सञ्चालन गर्दै आएका उद्धवले व्यवसाय थप विस्तारका क्रममा भिल्ला सुरू गरेका हुन्। उनका अनुसार त्रिशूली रिभरसाइड रिसोर्टले एक पटकमा तीन सय जनालाई खाने-बस्ने व्यवस्था गर्न सक्छ। कोभिडयता भने दैनिक सरदर ५० जना मात्रै सेवाग्राही पुग्छन्। सार्वजनिक बिदाको दिन एक सय ५० जनासम्म हुन्छन्। 

उद्धवले करिब दस लाख रूपैयाँ लगानीबाट त्रिशूली रिभरसाइड रिसोर्ट सुरू गरेका थिए। आम्दानी त्यसमै लगानी गर्दै जाँदा व्यवसाय विस्तार हुँदै गएको छ। 

Copy link
Powered by Social Snap